पाल्पा: चिनियाँ कम्पनीले निर्माण गरिरहेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको टनेल एक महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छ। पहिलो र तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेको र मुख्य टनेलको काम १६५ मिटर मात्र बाँकी रहेको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ। उत्तर र दक्षिणतर्फ गरी ९ सय ६१ मिटर सुरुङ्को टनेल खनेर सकिएको आयोजना कार्यालयले जनाएको छ।
तीनमध्ये दुई बाइपासको टनेल ब्रेक थ्रु भएर मुख्य टनेलको काममा व्यस्त भएको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए। १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइको तेस्रो बाइपास मुख्य सुरुङसम्म टनेल खनेर सकिएको उनको भनाइ छ।
दोस्रो बाइपासको काम अब ११ मिटर मात्र बाँकी रहेको उनले जनाए। दोस्रो टनेलको १ सय ५० मिटर टनेल खनिसकिएको छ। मुख्य टनेलसँगै दोस्रो बाइपास टनेलसमेत ब्रेक थ्रु हुने आयोजना प्रमुख अधिकारीले बताउछन्।
गत सेप्टेम्बर ११मा तेस्रो र असोज ४ (सेप्टेम्बर२०) मा पहिलो बाइपास मुख्य टनेलसँग खनेर सकिएको थियो। पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो। मुख्य टनेलको भागसम्म नपुगेको र केही लामो भएकाले दोस्रो बाइपास ब्रेक थ्रु हुन समय लागेको हो। मुख्य सुरुङको दुवैतर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी छ।
अहिले सुरुङको भौतिक प्रगति ३३.५९ प्रतिशत र वित्तीय प्रगति ३२.२ प्रतिशत छ। वित्तीय प्रगति निर्माण कम्पनीले सुरुमै लगेको पेस्कीसमेत हो। ‘मुख्य सुरुङको काम एक महिनाभित्र ब्रेक थ्रु गर्ने गरी काम भइरहेको छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘त्यसका लागि सोहीअनुसार मेसिनरी प्रयोग गर्नुका साथै आवश्यकताअनुसार विस्फोटका लागि सहजीकरण गरिएको छ।’
पर्याप्त विस्फोटक पदार्थ रहेको र निर्माण कम्पनीले पनि आवश्यकताअनुसार झन्डै १ सय ५० कामदार निर्माणस्थलमा खटाएको आयोजना प्रमुख अधिकारीले बताउछन। सुरुङभित्र ‘लाइनिङ’ का साथै कंक्रिटिङको कामको पनि डिजाइन फाइनल भएर काम अघि बढेको छ।
सुरुङ खनेर सुरक्षाका लागि गरिने कामका साथै बाटो फराकिलो पार्नेसहित अन्य काम सुरु भइसकेको आयोजनाले जनाएको छ। आयोजनाले भित्र काम भइरहेकाले बाहिरको काम गरेको छैन। सुरुङबाहिरको पहाडमा पहिरो बग्न नदिने गरी काम भइरहेको छ।
‘रक सेड र सडकको डिजाइनको कामसमेत अब अघि बढाइनेछ,’ उनले भने, ‘त्यसका लागि पनि डिजाइन फाइनल भइसकेको छ।’ टनेलभित्रको लाइनिङको कामसँगै बाहिरको काम हुनेछ।
सिद्धबाबा क्षेत्रको बाहिरी पहाड अड्याउन ‘रक सेड’ प्रविधिबाट दक्षिणमा १ हजार ४९५ वर्गमिटरको काम भएको छ। उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा ठेक्का लिएको यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ।
सिद्धार्थ राजमार्गको चिडियाखोला-दोभान सडक तिनाउ गाउँपालिका-३, दोभान क्षेत्रको सिद्धबाबा सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना हुने गरेपछि विकल्पका रूपमा सुरुङ निर्माणको योजना अघि बढेको थियो। यस खण्डको चार किलोमिटर क्षेत्रमा अत्यधिक पहिरो खस्ने क्षेत्रभित्र पर्छ।
योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ। राजमार्ग भएर तराईदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लामा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुने विश्वास छ।
पछिल्लो समयमा गुल्मी भएर मध्यपहाडी लोकमार्गको बागलुङ, खरबाङ पुग्न सहज भएपछि ढोरपाटन क्षेत्र पुग्नेहरूसमेत यही सडक प्रयोग गर्छन्।











