तनहुँ जलविद्युतको भौतिक कार्य अगाडि बढ़यो

IMG-20241212-WA0186

तनहुँ: चिनियाँ कम्पनीले निर्माण गरिरहेको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ६३ प्रतिशतले अगाडि बढ़ेको छ। १४० मेगावटको उक्त आयोजनाको आर्थिक प्रगति भने ५८ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार मुख्य संरचनालाई तीन प्याकेजमा बाड़ेर निर्माण भइरहेको छ। तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका-५ को सिमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिने छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ। क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ। मुख्य बाँध निर्माण छिटै सुरु गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्याकेज-१ को निर्माण प्रगति करिब ३६ प्रतिशतले छ । प्याकेज-१ को निर्माण सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन नेपालले गरिरहेको छ।
आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इन्टेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४९३ मिटर लामो सुरुङ छिचोलेर कंक्रिट लाइनिङ भइरहेको छ। मुख्य सुरुङबाट गएको पानीलाई २१३ मि. लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ। यसका लागि पेनस्टक पाइप जडान अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ।
आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज-२ को निर्माण कार्य चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। विद्युतगृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा छ। स्विजयार्ड निर्माण, विद्युत्गृहमा रहने उपकरणहरू जडानलगायत कार्य भइरहेका छन्। टेलरेस निर्माण सम्पन्न भएको छ। प्याकेज-२ को समग्र भौतिक प्रगति करिब ६२ प्रतिशतले छ।
प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ। ३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ वटाको जग हालिएको छ भने ६९ वटा खडा गरिएको छ। यस प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशतले छ। समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य छ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एसियन डेभलपमेन्ट बैंकले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। कम्पनीले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया पनि अगाडि बढाएको छ।
आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सम्पन्न भएको छ। यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका-४ र बन्दीपुर गाउँपालिका-६ मा ३३/११ केभीका दुई वटा सबस्टेसन सञ्चालनमा ल्याइएको छ। सबस्टेसनसम्म विद्युत् पुर्‍याउन ३३ केभी लाइन निर्माण गरिएको छ। विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरू जडान र ११ केभी लाइन निर्माण गरिएको छ।
सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म ६३ वटा परियोजना सञ्चालन गरिएको छ। आयोजना प्रभावितको जीविकोपार्जन तथा आयआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ।

About Author

Advertisement