खरसाङ: एनएफ रेलवेका जेनेरल म्यानेजर चेतन कुमार श्रीवास्तव अनि डिभिजनल रेलवे म्यानेजर सुरेन्द्र कुमारको दार्जीलिङ भ्रमण अवधि एनएफ रेलवे ईम्प्लोइज युनियन खरसाङ शाखाले शीर्ष दुई रेलवे अधिकारीहरुलाई भेट गरी एक ज्ञापन पत्र चढाएको छ। उक्त ज्ञापन पत्र अन्तर्गत पहाडका रेलवे कर्मचारीहरुले झेल्न परिरहेको विभिन्न समस्याको उठान गरिएको छ। यसमा प्रमुख मुद्दाहरुमध्ये रनिङ स्टाफको कमीको कारण लोको पाइलट साथै विभागीय नियम मुताबिक पर्याप्त रेस्ट नपाउनु, स्टाफ कमीको कारण धेरै वर्गका स्टाफ जस्तै इलेक्ट्रिक, ट्रयाक म्यान जस्ता श्रेणीहरुमा चाप उत्पन्न भइरहेछ भन्ने अवगत गराइएको छ। त्यसरी नै कैयौं स्टाफवर्ग जस्तै रनिङ, इन्जिनियरिङ, इलेक्ट्रिक, बन्द प्रिन्टिङ प्रेसका कर्मचारीहरुको पदोन्नति प्रक्रिया विभिन्न कारणले बाधित रहेको फलस्वरूप प्रमोसन पाएका छैनन् भन्ने विषयमा पनि रेलवे अधिकारीहरुलाई अवगत गराइएको छ। यसबाहेक स्थानान्तरित स्टाफले क्वाटरको अधिक भारा तिर्न पर्ने विषय उठेको समस्याको समाधान हेतु आवश्यक पदखेप चाल्न पर्ने निवेदन पनि गरिएको छ।

रेलवेमा कार्यरत् नारी कर्मचारीहरुको निम्ति आवश्यक पूर्वाधारहरूको सृजना हरिदिनु पर्ने, पहाडमा रेलको क्वार्टर, कोलोनी, खरसाङ रेलवे इन्स्टिट्युट, महात्मा गान्धी हल तीनधारे जस्ता पूर्वाधारहरुको जीर्ण अवस्थालाई जीर्णोध्दार गरी आवश्यक सुधार ल्याउनु पर्ने जस्ता विषयहरुमा रेलवे अधिकारीहरुलाई ज्ञापनमार्फत् जानकारी गराउँदै मांग गरिएको छ। इम्प्लोइज युनियन खरसाङ टोलीको अगुवाई शाखा सचिव विशाल मुखिया, अध्यक्ष डिमु लेप्चा र कार्यकारी अध्यक्ष रमेश कुमार रसाईलीले गरेका थिए।