(लघुकथा) निर्णय

प्रदीपको, आजको अनुरोधमा मैले मेरो सोसल मिडिया एकाउन्टको प्रफाइलमा उनैले रोजेको फोटो टाँसे। गाँवैको नदीकिनारमा, मैले निलो सलवार-कुर्ता लगाएको, अलिकति हाँसेको एकल फोटो। प्रदीपले नै खिँचेका थिए त्यो फोटो।

सोसल मिडियामै प्रदीपसँग मेरो चिनजान भएपछि हाम्रोबिच राम्रो सम्पर्क बनिसकेको छ। दुईवर्षे चिनजानको बिज तीनचोटि हाम्रो भेट पनि भएको छ। मैले मेरो अतीत प्रदीपलाई सुनाइसकेकी छु। छः वर्षे मेरी छोरी गर्भमै छँदा एउटा मोटर एक्सिडेन्टमा मेरा श्रीमान राकेशको देहान्त भएको कुरा गर्दा आँखाबाट खसेका दु:ख प्रदीपको रुमालले समेटेको थियो अनि मेरो व्यथा उनको हृदयले। त्यसपछि सासू-ससुराले अलझिनी भनेर मेरो मुखै नहेर्ने हुँदा बुबाले मलाई र छोरीलाई सँगै लिएर आएको पनि आज सात वर्ष हुनलाग्यो।

प्रदीपको भने त्यस्तो दुखद अतीत रहेनछ। बाबा-आमाका पाँचवटी छोरीपछिका छोरा रहेछन् प्रदीप। जागिर खाने बाबाले छोराले जागिर ढुकेर बस्ने उमेर खेरा नहाली एउटा मोटर पार्ट्सको दोकान खोलिदिँदा उनको दायित्व त्यस दोकानको श्रीवृद्धि र संरक्षण बनेको रहेछ। आफ्नो धैर्य र लगनशील स्वभावले गर्दा यस कार्यमा प्रदीप सफल पनि बनेका छन्। यहाँसम्म सबैथोक ठिकै थियो। तर मेरो जीवनमा एउटा ठुलो हुन्डरी आयो, जतिखेर प्रदीपले आफ्नो जीवन मसँग बिताउने कुरा गर्छन्। किङ्कर्तव्यबिमूढ भएर मैले यो कुरा आफ्नो बाबा-आमासामु राखेँ। उनीहरूको हर्क आँखाबाट बग्न थाले। मैले पनि छोरीको मुख हेरेँ।दैवले खोसेको सुरक्षा र माया दैवले नै फर्काउन खोजे जस्तो लाग्यो।

समयमा प्रदीपका बाबा-आमा पनि हाम्रो घर आउने निश्चय भयो। हाम्रो परिवारले घरी घरी ईश्वरलाई धन्यवाद दिइरहेको छ। उहाँहरू भोलि हाम्रो घर आउने कुरा छ, सम्बन्धको कुरा चलाउन।

क्रिङ….क्रिङ….फोनको घन्टीले मेरो तन्मयतामा व्याघात जन्माए पनि मोबाइलको स्क्रीनमा आएको ‘प्रदीप’को नाउँले मेरा ओठमा एउटा मिठो मुस्कान टाँसिदियो।

: हल्लो!

: …सुनन…एउटा कुरा थियो …कुरा हैन अनुरोध छ…

: भन्नुहवस् न!!

: भोलि बाबा-आमा आउनुहुन्छ। त्यहाँ कसैगरी पनि तिम्रो पहिलो बिहे र छोरीको कुरा नगर्नु ल!!! पछि म केही उपाय गरेर छोरी हामीसँगै ल्याउँछु… तिमी चिन्ता नमान….. सुन्दैछौ???  हल्लो….हल्लो…

अरू कुनै शब्द मेरो कानमा पसेनन्। केहीछिन म शून्य भएँछु…मेरै वरिपरि उफ्रिएर खेलिरहेकी छोरी एक्कासि आएर उसका साना दुईहातले मेरा आँखा छोपेर ‘को हो चिन्नु त?’ भन्दा मँ छानाबाट खसेझैँ भएर झस्किएँ। दुईआँखामा भरिएका आँसु पुछिदिँदै “के भयो मामु, के भयो?” भन्दै मेरा आँखा सुम्सुम्याउन व्यस्त भएका उसका ससाना औँलाहरू आफ्ना हत्केलामा अँटाउँदै उसलाई छातीमा समेट्छु। न्यानो मायाको दीप जलाउने प्रदीपको  धर्मसङ्कट र मेरो आडमा उभिने प्रयासमा रहेकी मेरी छोरीको भविष्य एउटै भुमरीमा अल्झिएको रहेछ। त्यो भुमरीको केन्द्रबिन्दु त म नै रहेछु। अब यस  भुमरीलाई दिशा देखाउने दायित्व मेरो हुनेछ र मलाई निर्णय लिन केहिबेर पनि लागेन….

*******************************

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement