जीटीए चिफ् अनित थापाले गरे विभागीय कार्यालय अनि देशबन्धु जिल्ला पुस्तकालयको भ्रमण

दार्जिलिङ: जीटीए प्रमुख कार्यपाल अनित थापाले आज दार्जीलिङमा दुइटा विभागीय कार्यालयहरू अनि देशबन्धु पुस्ताकालयको भ्रमण गरेका छन्। कार्यालयहरू अनि पुस्ताकालयको सोचनीय अवस्थामाथि आफु खुसी नभएको उनले बताए। उनले भने कि कुनै पनि संस्थान, निकायलाई सफलतापूर्वक चलाउन पूर्वाधार ठीक हुनु अनिवार्य ठान्छु भन्दै समाजलाई विकसित बनाउनु ज्ञानको पूर्वाधार ठीक हुनु नै पर्छ भनी बताएका छन्। उनले भने- ‘आज म देशबन्धु पुस्तकालय पुगे। यो पुस्तकालयको आफ्नै इतिहास अनि गरिमा छ। यो पुस्तकालयको निर्देशक हुनु सम्मानको विषय हो। यति पुरानो पुस्तकालयको हालत हेर्दा दुःख लागेर आयो। एउटा समय थियो यो पुस्तकालय पाठकहरुले भरिभराव हुन्थ्यो। ज्ञान खोज्न दार्जीलिङ्ग सहरका स्रष्टादेखि लिएर विद्यार्थीहरूसम्म यो पुस्तकालयका सदस्य हुन्थे। आज पढ्ने संस्कार बदलेर गएको हो कि पढ्ने संस्कार नै हराएर गएको हो?’
उनले कमान बस्तीहरूतिर पनि पुस्तकालय जाने मानिसको संख्या कम्ती भएको बताए। ज्ञानदेखि विमुख हुनु समाजको निम्ति ठीक होइन भन्दै उनले भने कि कमान बस्तीमा पनि पुस्तकालयहरु छन्। तर थोरै पाठकहरु मात्र पुस्तकालय जाने गर्दछन्? किन?
मलाई लाग्छ, टेक्नोलोजीले मानिसलाई कब्जा गरेको छ। हात हातमा हुने मोबाइल नै सबै कुराको (ज्ञानसम्म) श्रोत बनेको छ। पुस्तकालयलाई शमशानघाट त बनाउनु मिल्दैन। समाजको अभिन्न अंग नै हो यो। अब कसरी मानिसलाई पुस्तकालयसम्म ल्याउने? उनले सुझावमा भने कि यदि पुस्तकालयमा वाई फाई जडान गर्नु सकिए सायद अहिलेका युवा अनि विद्यार्थीहरुले नि:शुल्क नेट चलाउनु भए पनि पुस्तकालय पस्ने सोच राख्नु सक्नेछन्। विस्तारै पुस्तकालयमा उपलब्ध खबर कागज, म्यागेजिन, पुस्तकहरू पढ्नु थाल्नेछन् भनी बताएका छन्।

थापाले अघि भने -‘अहिलेको समाज, ज्ञानको समाज भएको छ। टेक्नोलोजीले प्रभावित समाज बनेको छ। हाम्रो नानीहरूलाई किताबी ज्ञान मात्र यथेष्ट छैन। ज्ञानका अनेक श्रोतहरू छन् अनि पुस्तकालय एउटा बहुमूल्य श्रोत ठान्छु। हाम्रो पहाडको समाज पनि अन्य ठाउँको समाज संग सँगै विकसित भएर जानु हो भने, समाजका विद्यार्थी, शिक्षित युवा, स्रष्टाहरु ज्ञानको भुवरीमा पस्नु नै पर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement