गान्तोक: तामिलनाडु ग्रामीण रूपान्तरण कार्यक्रमबारे बुझ्न वाणिज्य एवं उद्योग विभागका अधिकारी अनि एसईईडी प्रकोष्ठका प्रतिनिधिहरू सामेल ११ सदस्यीय प्रतिनिधि टोलीद्वारा तीन दिवसीय अध्ययन भ्रमण पूरा गरिएको छ। ग्रामीण उद्यमहरूलाई प्रोत्साहित गर्नका साथै ऋण सुविधासम्म सुगम पहुँच प्रदान गरी रोजगार अवसर सिर्जनाद्वारा ग्रामीण क्षेत्रको रूपान्तरणका लागि चालिएका कदमहरूबारे अध्ययन गर्न उक्त अध्ययन भ्रमणको उद्देश्य रहेको थियो। उक्त अध्ययन भ्रमण विश्व ब्यांकद्वारा वाणिज्य एवं उद्योग विभागलाई सर्वोत्तम कार्यप्रणालीको अध्ययन गरी त्यसलाई विद्यमान अनि भावी उद्यमीहरूका लागि कार्यान्वित सिक्किम इन्स्पायर्सको अंश रहेको थियो। टोलीको नेतृत्त्व उद्योग तथा वाणिज्य विभागकी अतिरिक्त सचिव तथा सिक्किम इन्स्पायर्सकी शीर्ष अधिकारी छोडेन ग्याछोले गरेकी थिइन् भने टोलिमा विभागीय अधिकारीहरु सामैल थिए। अध्ययन भ्रमणमा कोयम्बतुर, तिरूपूर र चेन्नई जिल्लामा विभिन्न उद्यम तथा ई-सेवा नामक सामुदायिक केन्द्र वा वान स्टप सुविधा केन्द्रहरूको स्थलगत भ्रमण सामेल रहेको थियो। चेन्नईमा अधिकारीहरूसँगको बैठकपछि भ्रमणको समापन भएको थियो। प्रतिनिधि टोलीद्वारा विश्व ब्यांकको विभिन्न लाभार्थीसँग पनि अन्तरक्रिया गरियो। जसअन्तर्गत १,०५,००० भन्दा धेरै उद्यमलाई र ४२ वटा वान स्टप सुविधा केन्द्र परिचालनमा ल्याइएको अध्ययनमा पाइएको थियो। अध्ययन भ्रमणको प्रमुख उपलब्धि, उद्यमी समुदाय विशेषज्ञहरूको सहयोगमा खण्ड स्तरबाट स्वयंसहायता समूहहरूलाई वित्तीय स्वतन्त्रता अनि उद्यमितामा सहयोग अनि प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिकाबारे जानकारी लिने रहेको थियो। परियोजनाको उल्लेखनीय कार्यप्रणाली तथा क्षेत्रमा स्थानीय उद्यमीहरूलाई सहायता गर्ने दृष्टिकोणबारे बुझ्न प्रतिनिधि टोलीद्वारा टीएनआरटीपीकी सीईओ श्रीमती दैवर्षिनी लगायत अन्य अधिकारीसँग चर्चा-परिचर्चा पनि गरेका थिए। यस अध्ययन भ्रमणबाट हासिल गरिएको ज्ञानले आकाङ्क्षी उद्यमीहरूलाई सहयोग प्रदान गरेको छ।










