नाम्ची: एकलव्य आदर्श आवासीय विद्यालय (ईएमआरएस) सुन्तलेमा १८ र १९ नोभेम्बरका दिन मेगा स्पोर्ट्स इभेन्ट्स सफलतापूर्वक आयोजन भयो। कार्यक्रमको उद्घाटन १८ नोभेम्बरका दिन मल्ली निर्वाचन क्षेत्रका विधायक एनबी प्रधानले गरेका थिए।कार्यक्रमको पहिलो दिन ईएमआरएसका विद्यार्थीहरूबीच टेबल टेनिस, चेस, एथलेटिक्स लगायत अन्य प्रतियोगिताहरू आयोजन भएको थियो। यसैगरी, मुख्यमन्त्री कार्यालयको देखरेखमा स्वास्थ्य शिविरलगायत स्वास्थ्य सम्बन्धित जागरुकता कार्यक्रम पनि आयोजना गरियो।कार्यक्रमको दोस्रो अनि अन्तिम दिन सामाजिक कल्याण विभागकी सल्लाहकार एवं विधायक पमिन लेप्चा मुख्य अतिथि र विभागकी सचिव सारिका प्रधान विशेष अतिथि थिइन्। यसैगरी, नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङ लगायत विभिन्न विभागका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो।दोस्रो दिनको शुरुवात योग सत्रबाट भयो, जसमा ईएमआरएस विद्यालयका विद्यार्थीहरू सहभागी बने। यस अवसरमा विद्यार्थीहरूले आत्मनिर्भर स्टल पनि लगाएका थिए। मुख्य अतिथि लगायत अन्य अतिथिहरूको यी स्टलहरूको भ्रमण गर्दै विद्यार्थीहरूलाई प्रोत्साहित गरे। दोस्रो दिन पनि सीएमओको अगुवाईमा स्वास्थ्य शिविर राखिएको थियो।