खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी तीन दिन दार्जीलिङ बसेर आगामी जनवरी महिनामा पुन: आउने वाचाको साथमा आज पहाड़बाट फर्किएकी छन्। आज दार्जीलिङबाट फर्किने क्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी अपरान्ह 4 बजेतिर खरसाङ आईपुगेकी थिइन्। मुख्यमन्त्रीको कन्वे खरसाङको मोटर स्ट्याण्डमा आएर रोकिएको थियो। खरसाङमा मुख्यमन्त्री ममता ब्यानर्जीले जनसाधारणसित केही झन बातचीत गरेकी थिइन्। उनले यसावधि नानीहरूलाई खोज्दै थिइन्। खरसाङबाट मुख्यमन्त्रीको कन्वे सिलगढीतर्फ लागेको थियो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी गत सोमबार साँझतिर दार्जीलिङ आईपुगेकी थिइन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलबार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनसित र विभिन्न विकास बोर्डहरुका चेयरम्यानहरूसित बैठक गरेकी थिइन्। त्यसरी नै हिजो बुधबार दार्जिलिङको चौरास्ता परिसरमा आयोजित सरस मेलाको उद्घाटन गर्नुको साथै विभिन्न स्थानहरूका लागि विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उदघाटन गरेकी थिइन्। उनले पहाड़लाई विभिन्न विकास परियोजनाहरू लगायत विभिन्न घोषणा गरेर फर्किएकी छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी जनवरी महिनामा नेताजी सुवासचन्द्र बोसको जन्म जयन्ती पालन गर्नलाई दार्जिलिङ पहाड़ आउने दार्जिलिङको चौरास्ताबाट घोषणा गरेकी थिइन्।