दमक (नेपाल): सरकारको करिब डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माण भएको व्यावसायिक भनिने ‘दमक भ्यु–टावर’ संचालनमा अझै अन्योलता रहेको छ। टावर संचालनको मोडालिटी कस्तो बनाउने भन्ने विषय पेचिलो देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेको टावर यस समय स्थानीय नागरिकहरु टहल्ने स्थल मात्र बनिरहेको छ। टावर संचालनका सम्बन्धमा संघीय सरकार र स्थानीय सरकारबीच मत बाझिएको कारणले यसको व्यवस्थापन गर्न असहज भएक़ो स्थानीयको भनाइ छ। संचालनका सम्बन्धमा शहरी विकास मन्त्रालयमा छलफल चलिरहेको उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए। दमक टावर र काठमाडौंको धरहरा एउटै मोडालिटीमा संचालन गर्नेगरी छलफल भइरहेको उनले बताए। करिब एक अर्ब ४५ करोडमा निर्माण भएको टावर मन्त्रालयबाट मोडालिटी र कार्यविधी टुंग्याएर उद्घाटन र संचालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। तर दमक नगरपालिकाको नेतृत्वमा अन्य पार्टी भएका कारण भ्यू टावरको स्वामित्व कसले लिने भन्ने विषयमाअझै अन्योलता रहेको स्थानीयको भनाइ छ। दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख र कांग्रेसका उपप्रमुख छन्।
सरकारले २०१९ मा एक अर्ब ३८ करोड रुपियाँमा सक्ने गरी ठेक्का लगाएको थियो तर लागत बढेर एक अर्ब ४५ करोड पुगिसकेको छ। दमक बजारबाट करिब तीन किलोमिटर उत्तर पश्चिमको दापगाछीमा रहेको टावर ५ बिघा क्षेत्रमा फैलिएको छ। सो स्थानमा पुग्न पूर्वाधारको अभाव देखिएको छ। टावरभित्र व्यापारिक पसल, कर्पोरेट अफिस, सेमिनार हल, प्रदर्शनीकक्ष, विभिन्न स्थानीय जातिको संस्कृतिक संग्राहलयलगायतका कार्यालयहरु राखिने जनाइएको छ। तर भ्यु टावरसम्म पुग्न पूर्वाधारको अभाव भएकाले समस्या थप बढेर गएको छ। सडक कच्ची छ। पूर्वाधार निर्माणका लागि अझै ५० करोडजति बजेट लाग्ने भएकाले संचालन अझै पर धकेलिने अनुमान गरिएको छ। केही पूर्वाधारविदहरुले भने टावर निर्माणका विषयलाई लिएर आलोचना समेत गर्ने गरेका छन्। टावर अनुचित र अनुपयुक्त स्थानमा निर्माण गरिएकाले संचालनमा कठिनाइ हुने अनुमान उनीहरुले गरेका छन्।