नाम्ची: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज आफ्नो दुई दिने नाम्ची जिल्ला भ्रमण सम्पन्न गरे। भ्रमणको दोस्रो दिन, राज्यपालसँग राभाङ्ग-बुर्फुंगका विधायक रिक्शाल दोर्जी भुटिया, राज्यपाल सचिवालयका सचिव जे डी भुटिया, एडीसी (मुख्यालय) सुभाष घिमिरे र नाम्ची जिल्लाका अन्य अधिकारीहरू पनि साथमा थिए।

राज्यपालले राभाङ्गलामा रहेको कापिन्जेल बालगृहको भ्रमण गरे। यहाँ उनले बालगृहको संचालनको समीक्षा गरे, अनि यसलाई सफल बनाउन सहयोग पुर्याउने गैरसरकारी संस्था र विभिन्न विभागहरूको प्रयासको प्रशंसा गरे। राज्यपालले बालगृहलाई सहयोग गर्ने आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्दै यसको आर्थिक व्यवस्थाबारे जानकारी लिएl

त्यहाँ बस्ने बालबालिकाको आवश्यकता पूरा हुने कुरा सुनिश्चित गर्न उनले प्रमुखता दिए। राज्यपालले राबोङ-साङ्मू सेल्फ हेल्प ग्रुप गाउँ फेडरेसनको बेकरी र पसलको पनि भ्रमण गरेl यहाँ उनले स्थानीय सदस्यहरूसँग अन्तरक्रिया गरे। उनलाई एसएचजीले उत्पादन गरेका पर्यावरणमैत्री सामग्रीहरूको विस्तृत जानकारी दिइयो, जसमा स्यानिटरी प्याड, टिश्यू, मैनबत्ती र अन्य वस्तुहरू समावेश छन्। राज्यपालले यस पहलको प्रशंसा गर्दै यस किसिमको दिगो, समुदायद्वारा संचालित प्रयासको महत्त्वलाई उल्लेख गरे।

समुदायसँगको आफ्नो संलग्नता बाहेक, राज्यपालले बुद्ध पार्कको पनि भ्रमण गरे, जहाँ उनले प्रार्थना अर्पण गरे, र त्यसपछि पार्कको सम्मेलन हलमा स्थानीय पञ्चायत सदस्यहरू र आशा कार्यकर्ताहरूसँग बैठकमा सहभागी भए। बैठकको क्रममा पञ्चायत र आशा कार्यकर्ताहरूले ग्राम पञ्चायत युनिट (जीपीयु) सँग सम्बन्धित विभिन्न समस्याहरू उठाए।

राज्यपालको नाम्ची जिल्लाको भ्रमण स्थानीय समुदायसँगको अर्थपूर्ण अन्तरक्रिया र यस क्षेत्रको विकासमा उनको सहयोगको पुन:पुष्टि भएको छ। राज्यपालले जिल्लामा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै जनताको हितलाई थप अभिवृद्धि गर्ने प्रतिबद्धता दोहोर्याए। -आईपीआर