गान्तोक: नेपाली साहित्य परिषद, सिक्किमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती वर्षेनी १२ नोभेम्बरको दिन पालन गर्ने निर्णय लिएको छ। परिषदका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा आज सम्पन्न कार्यकारी सदस्यहरूको सभाले सो निर्णयलाई प्रस्तावको रुपमा राखेर सर्वसम्मतिकासाथ पारित गरेको छ। सो प्रस्तावमा वर्षेनी देवकोटा जयन्ती अनिवार्य रूपमा पालन गर्ने पनि निर्णय लिएको छ। यसै क्रममा आगामी १२ नोभेम्बरको दिन डेभलपमेन्ट एरिया, जीवन थीङ मार्गस्थित परिषदको सभाकक्षमा ११५औं देवकोटा जन्मजयन्ती पालन गरिने भएको छ। कार्यक्रममा महाकविको व्यक्तित्व एवं कृतित्वमाथि वार्तासँगै कवि गोष्ठी साथै साङ्गीतिक कार्यक्रमहरू समावेश गर्ने आजको सभाले निर्णय लिएको छ। यसै सभाले आगामी २२ दिसम्बरको दिन नेपाली साहित्य परिषद, सिक्किमको वार्षिक साधारण सभा डाक्ने पनि निर्णय लिएको प्रचार सचिव जोसफ लेप्चाले जानकारी गराएका छन्।










