विराटनगर (नेपाल): कोशी प्रदेशमा गाँजा फँडानीलाई पुलिसले तीब्र पारेको छ। पूर्वी पहाडी जिल्लामा लागुऔषध गाँजाको खेती व्यापक मात्रामा हुन्छ। धनकुटा र भोजपुरका विभिन्न स्थानमा लगाइएका गाँजाका बोट पुलिसले नष्ट गरेको छ। पुलिसले एकै दिन ३८ हजारभन्दा बढी गाँजाका बोट फाँडेको हो। कोशी प्रदेशका पुलिस प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न स्थानमा अवैध हिसाबले लगाइएका र प्राकृतिक रूपमा आफैं उम्रिएका गाँजाका बाटो नष्ट गर्न पुलिस परिचालन गरिएको जानकारी दिए। धनकुटाको शहीदभूमि गाउँपालिकाका विभिन्न स्थानमा लगाइएका गाँजा पुलिसले नष्ट गरेको छ। इलाका पुलिस कार्यालय छिन्ताङ, भेडेटार, पुलिस चौकी आँखीसल्ला र त्रिवेणीबाट खटिएको टोलीले १७ रोपनी क्षेत्रफलमा लगाइएका र डाँडा पाखामा आफैं उम्रिएर हुर्किएका २४ हजार ४ सय गाँजाका बोट फाँडेको छ। फँडानी गरिएका बोटहरु पुलिसले जलाएर नष्ट गरेको छ। त्यस्तै, भोजपुरको इलाका पुलिस कार्यालय घोडेटारबाट खटिएको टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न स्थानमा करिब १८ रोपनी पाखो बारीमा लगाइएको गाँजा नष्ट गरेको कोशी प्रदेश पुलिस कार्यालय विराटनगरले जनाएको छ। पुलिसका अनुसार हतुवागढीमा १४ हजार १ सय बोट गाँजा फँडानी गरेर नष्ट गरिएको छ।