लेखक वीरबल लिम्बूका दुई कृति विमोचित

WhatsApp-Image-2024-11-07-at-19.01.35

गान्तोक: सिक्किम अकादेमीले लेखक एवम् कवि वीरबल लिम्बूको दुईवटा कृतिको विमोचन गरेको छ।  बिहीबार अकादमीको आर्ट्स ग्यालेरीमा पद्मश्रीद्वारा विभूषित वरिष्ठ साहित्यकार सानु लामाको मुख्य आतिथ्यमा आयोजित विमोचन समारोहमा कविता संग्रह “हो नी हजूर! म गरीब मान्छे” साथै “उखान-टुक्का बटुल बाटुल”को विमोचन गरियो। आफ्नो सम्बोधनमा मुख्य अतिथि लामाले नेपाली लोक साहित्य विधामा पुस्तकहरू प्रकाशित नभइरहेको अवस्थाबीच वीरबल लिम्बूद्वारा उखान-तुक्काको संग्रह  प्रकाशित हुनु लोक साहित्यका निम्ति उपलब्धि मान्न सकिने बताए। यो किताब लोक साहित्य अध्ययनका निम्ति उपयोगी सन्दर्भ हुने पनि उनले मन्तव्य गरे। यसअघि नेपाली उखान-तुक्कामाथि भारतबाट लेखिएको एउटा मात्र कृति भएको हुनाले यो कृतिले लोपोन्मुख उखान-तुक्कालाई  संरक्षण गर्न सहयोग पुऱ्याउनसक्ने बताए।

सर्जक वीरबल लिम्बूले आफू एक राजनीतिज्ञका रूपमा समाजमा परिचित रहे तापनि आज एक साधारण मान्छे वीरबल लिम्बू भएर आएको मन्तव्य गरे। आफूले यसअघि लेखेका पुस्तकहरूमा राजनीति जोडिएका हुनाले ती पुस्तकहरूलाई विशुद्ध साहित्यको रूपमा नगृहेरेको मन्तव्य गरे। यसअघिका पाँचवटा प्रकाशित पुस्तकहरूको विमोचन नगरेको बताउँदै  लिम्बूले  लामो समयसम्म अध्ययनमा भोगेका र संकलन गरेका उखान तुक्काहरूका संग्रह र कविता संग्रह  विमोचन गरी पाठकलाई समर्पित गरेको बताए।  आफूले सुनेकी र खोजेर भेटेका उखान-तुक्काहरूलाई बटुलेर समावेश गरेको अनि कतिपय वर्तमान समयमा असान्दर्भिक रहे तापनि उहिले प्रयोगमा आएकालाई जस्ताको तस्तै राख्ने धृष्टता गरेको पनि लिम्बूले बताए। उनले विमोचित दुवै पुस्तक पढेर पाठकीय मन्तव्य साझा गरिदिने पनि आग्रह गरे।

साहित्यकार चुनिलाल घिमिरेले विमोचित पुस्कमाथि समीक्षात्मक टिप्पणी राख्दै कविता लेख्नभन्दा गाह्रो अनुसन्धान गरेर लेख्नु हो भने। यस सन्दर्भमा लिम्बूका उखान-तुक्का सङ्ग्रह धेरै महत्त्वपूर्ण रहेको बताए। लेखक  लिम्बूले ४७  वर्ष लामो समय खर्चेर नेपाली लोक जनजिब्रोमा रहेका लोक साहित्यलाई संकलन गरी लोक साहित्य क्षेत्रमा प्रशंसनीय कार्य गरेको गरेको बताए। उनले यो पुस्तक धेरै उपयोगी रहेको बताए। बहुमायिक व्यक्तित्त्वका धनी लिम्बूले मौलिक सिर्जनाबाहेक प्रकाशित गरेको यो पुस्तकले उनी समाजसित कति नजिकबाट जोडिएका थिए भन्ने कुरा पनि स्पष्ट पार्ने घिमिरेले मन्तव्य गरे। अध्यक्ष एसआर सुब्बाले स्वागत सम्बोधनमा सिक्किम अकादमी सानो परिवार सुखी परिवार भएकाले सानै रूपमा भए पनि धेरै महत्त्पूर्ण र अर्थपूर्ण कार्यमा सदैव अग्रसर रहेको मन्तव्य गरे। अकादेमीले आजको कार्यक्रममा कर्ताको भूमिका मात्र निर्वाह गरेको भन्दै उनले यसका कारक  भने दुई पुस्तकका सर्जक वीरबल लिम्बू रहेको बताए। सर्जक लिम्बूले अझ धेरै पुस्तकहरू दिएर नेपाली साहित्यको ढिकुटीलाई समृद्ध पार्ने दिशामा कार्य गर्दै जानेछन् भन्ने उनले आशा पनि व्यक्त गरे। कार्यक्रममा मणिराज सुब्बाकृत गीति सौगातको पनि सार्वजनिक गरियो। सम्पूर्ण कार्यक्रमलाई अकादमीका महासचिव पूर्ण योञ्जनले संचालन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement