१०औं इन्टर चर्च गोल्ड कप फूटबल टुर्नामेन्टमा व्याप्तिस चर्च विजयी

IMG-20241105-WA0239

गान्तोक: सिक्किम ख्रीष्टियन खेलकूद समितिद्वारा आयोजित १०औं इन्टर चर्च गोल्ड कप फूटबल टुर्नामेन्टको फाइनल खेल हिजो राजधानीस्थित पाल्जर स्टेडियममा भव्यरूपमा समापन भयो। उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, मन्त्री जीटी ढुङ्गेल, मन्त्री राजु बस्नेत, विधायक कला राई, विधायक लोकाथ शर्मा, विधायक दिले नामग्यल बर्फुङपा, अध्यक्ष आरके वालिङ लगायत अन्यहरूको पनि विशेष उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा विश्व प्रख्यात गायक रेभरेण्ड सेलडन बंगेरा, गायिका लिडीया राई, नोमेड्स ब्याण्डका पुर्व गायक डोनाल्ड सादा, एलबी बराइली लगायक अन्य अतिथि कलाकारहरूले रोमाञ्चक प्रस्तुती दिएका थिए। यसरी नै मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट समितिका संस्थापक सदस्यहरूलाई सम्वर्द्धना गरियो भने यो कार्यक्रमलाई सहयोग प्रदान गरेकोमा आयोजन समितिले मुख्यमन्त्री तामाङलाई सम्मान जनायो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले कार्यक्रमको सफलतापूर्व आयोजनको निम्ति समितिलाई बधाई दिए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले सँधै नै सिक्किमको सबै जात धर्मावलम्बीहरूलाई एक समानले हेर्दै संस्थाको विकास र संरक्षणको क्षेत्रमा कार्य गरिरहेको बताए। सिक्किमको हरेक धर्मावल्म्बीहरूलाई सहयोग गरेको पनि जानकारी गराए।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजन समितिका मुख्य संरक्षक एवं मुख्यमन्त्रीका राजनीतिक सचिव (राजनीतिक मामिला) जेकब खालिङले यो कार्यम भव्य अनि सभ्य हुनमा मुख्यमन्त्री प्रेमसिंह तामाङको ठूलो सहयोग रहेको हुँदा सिक्किमका समस्त ईसाईहरूको पक्षबाट मुख्यमन्त्री तामाङप्रति आभार व्यक्त गरे। ईसाई समुदाय साथै अन्य सबै धर्मवलम्बीहरूलाई सदैव सहयोग प्रदान गरेकोमा उनले मुख्यमन्त्री तामाङलाई धन्यवाद दिए। सिक्किमले प्रेमसिंह तामाङजस्तो दुरदर्शी मुख्यमन्त्री प्राप्त गरेको कारणले नै सबै जात- धर्मको संरक्षण भइरहेको उनले बताए। १०औं इन्टर चर्च गोल्ड कप फूटबल टुर्नामेन्टको फाइनल खेल ब्रदर इन् क्राइष्ट वनाम ब्याप्टीष्ट चर्चबिच भएको थियो, जसमा शून्यको विरुद्ध तीन गोल गरेर ब्याप्टिष्ट चर्च विजयी बन्यो। विजेता अनि उपविजेता टोलीलाई मुख्यमन्त्री तामाङ लगाय अन्य अतिथिहरूले पदक, आकर्षक ट्रफी अनि नगद पुरस्कार प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement