गान्तोक: सिक्किम सरकारका सड़क एवं पुल मन्त्री एनबी दाहाल र पर्यटन एवं नागरिक उड्डयन मन्त्री छिरिङ टी भोटियाले एनएचपीसी-का प्रतिनिधिहरू साथै सम्बन्धित विभागका अधिकारीहरूको साथमा आज बर्फुङ्ग समष्टिअन्तर्गत एनएचपीसी रङ्गीत क्षेत्रमा जीर्ण अवस्थामा पुगेको सड़क मार्गको संयुक्त निरीक्षण गरे। यस अवसरमा क्षेत्र विधायक रिक्सल दोर्जी भोटियाको पनि विशेष उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, यस क्षेत्रमा निरन्तर जाने गरेको पैह्रो अनि धस्कने जमीनको कारण पछिल्ला लामो समयदेखि सड़क मार्ग जीर्ण अनि चिन्तनीय अवस्थामा पुगेको छ। विशेष गरेर पश्चिम सिक्किमको टाशीडिङ, लाबदाङ, योक्सम लगायत अन्य गाउँहरूलाई जोड़ने योक्सम-टाशीडिङ सड़क मार्गको अवस्था अत्यन्त जीर्ण बनेको छ। यस सड़कको खराब अवस्थाले यातायतलाई मात्र होइन तर स्थानीयवासीको आर्थिक अवस्थालाई पनि नकरात्मक प्रभाव पारेको छ।
मन्त्रीद्वयको आजको भ्रमणले यस जीर्ण सड़कले काँचुली फेर्ने आशा गरिएको छ। मन्त्री दाहालले यस सड़क मार्गको महत्वलाई ध्यानमा राखेर सम्बन्धित विभागका अधिकारीहरूलाई तत्काल मरम्मतीको कार्य आरम्भ गर्ने निर्देश दिएका छन्। यसरा नै योक्सम टाशीडिङको विधायक तथा मन्त्री भोटियाले सड़क मार्गको मरम्मतीमा एनएचपीसी-लाई पनि आवश्यक योगदान दिने निर्देश दिएका छन्।
यस अवधि मन्त्री अनि विधायकहरूको साथमा एनएचपीसी-का प्रतिनिधिहरू र विभिन्न विभागका अधिकारीहरूबीच एउटा विशेष बैठक पनि बस्यो जसमा योक्सम-टाशीडिङ सड़कमार्गलाई कसरी छिटो मरम्मत गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरियो।