खरसाङ: चेली माईतीको प्रगाढ सम्बन्ध रहेको तिहारको चाढ भाई टिकासितै पहाड़मा नेपाली/गोर्खालीहरूको महान् चाढ़ तिहार शान्तिपूर्ण सम्पन्न भएको छ। तिहारको अवसरमा सांस्कृतिक र चेली माईतीको सम्बन्धको चाढ भाई टिका आईतबार दार्जिलिङ पहाड़, कालेबुङ, खरसाङ, मिरिक लगायत तराई र डुवर्ससहित खरसाङको तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरूमा पनि शान्तिपूर्ण सम्पन्न भएको छ। भाइ टिकाको अवसरमा माइती दाजु भाइहरूले आफ्नो चेलीको घरमा गएर भाइ टिका लगाएका छन् भने चेलीहरूले पनि आफ्ना माइती राजाको लामो आयुको कामनासहित प्रार्थना गर्दै भाइ टिका लगाउने कार्य सम्पन्न गरिएको छ। यस अवसरमा माईतीहरूले आफ्ना चेलीहरूलाई उपहार पनि दिने कार्य सम्पन्न गरेका छन्।
यस चाढ़मा नेपाली गोर्खा भाषीहरूले पहाड़, तराई डुवर्स लगायत देशभरि नै पालन गरेका छन्। यसको साथै भाइ टिकासितै तिहार पनि शान्तिपूर्ण समाप्त भएको छ। तिहार पर्व सबैले सांस्कृतिक महत्व र परम्परागत मान्यताको साथमा हर्षोल्लास र शान्तिपूर्ण ढंगमा समाप्त भएको छ। तिहारको अवसरमा खरसाङ बजारलाई झिलिमिली बत्तीहरूले सजाइएको थियो भने तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरूमा रमाईलो कार्यक्रम पनि आयोजना गरिएको थियो। यसै क्रममा खरसाङको मन्टिभियट खेल मैदानमा मेलाको आयोजना भईरहेको जानकारी प्राप्त भएको छ भने तीनधारे महानदी समष्टिको सिविटार चियाबारी अन्तर्गत बाघमारा बस्तीमा रमाईलो कार्यक्रमको आयोजना गरिएको थियो। यसको साथै तिहारको विभिन्न स्थानहरूमा रमाइलो कार्यक्रमहरू पनि आयोजना गरिएको जानकारी प्राप्त भएको छ। यस क्रममा विभिन्न चियाबारी र कमान बस्तीतिर तिहारको अवसरमा लिङ्गे पिङ्ग र अन्य रमाईलो खेलकूदहरू आयोजना गरिएको जानकारी प्राप्त भएको छ। तिहारलाई अहिले पनि मानिसहरूले सांस्कृतिक महत्वको साथमा परम्परागत मान्यताको रूपमा हर्षोल्लासको साथमा पालन गर्ने गरेका छन् अनि यसपाली पनि तिहार हर्षोल्लासको साथमा शान्तिपूर्ण ढंगमा पालन गरिएको छ।