गान्तोक: खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजित राष्ट्रिय एकता दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले आज यहाँको एमजी मार्गमा ‘रन फर युनिटी २०२४’ लाई झण्डा देखाएर शुभारम्भ गरे।
राष्ट्रिय एकता दिवस प्रत्येक वर्ष अक्टोबर ३१ मा सरदार वल्लभभाई पटेलको जन्मजयन्ती मनाउन मनाइन्छ, जसले भारतको स्वतन्त्रता आन्दोलनमा र राष्ट्रलाई एकताबद्ध गर्नमा महत्त्वपूर्ण भूमिका निभाएका थिए। रन फर युनिटी राष्ट्रिय एकता र ऐक्यबद्धतालाई बढावा दिने महत्वपूर्ण कार्यक्रम हो। कार्यक्रममा राज्यका मात्रै नभई देश र सिमानाका धावकहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा २१ किलोमिटर ओपन हाफ म्याराथन (पुरुष र महिला) र ३ किमी दौड (मुनि १६- केटा र केटी) गरी दुई विधा थिए। प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेलाई नगद पुरस्कार र शीर्ष दश स्थानमा पर्न सफल धावकहरूलाई सान्तवना पुरस्कारको व्यवस्था गरिएको थियो।मुख्यमन्त्रीले पुरुष र महिलाको हाफ म्याराथन (२१ किलोमिटर दौड) लाई झण्डा देखाउनुअघि सहभागीहरुलाई आशीर्वाद र हौसला प्रदान गरेका थिए। यु-१६ केटा र केटीहरुको तीन किलोमिटर दौडलाई मन्त्री राजु बस्नेतले झण्डा देखाएर शुभारम्भ गरे।
कार्यक्रममा गान्तोकका मेयर नील बहादुर छेत्री, उपमेयर छिरिङ पाल्देन भोटिया, अतिरिक्त मुख्य सचिव आर. तेलाङ, पुलिस महानिदेशक एके सिंह, खेलकुद तथा युवा मामिला विभागका सचिव एम.टी शेर्पा आदि पनि उपस्थित थिए।