काठमांडू: पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा १४ महिना जेल सजाय काटेर छुटेका छन्।
भेपमार्फत ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका महरा १४ महिना जेल सजाय काटेर छुटेका हुन्।
केन्द्रीय कारागार जगन्नाथदेवलका कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार १४ महिना जेल बसेर उनी छुटेका हुन्।
उनलाई जिल्ला अदालत काठमांडूले कसुर ठहर गरी जेल सजाय तोकेको थियो। उक्त सजाय भुक्तान गरी उनी छुटेका हुन्।
भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २०८० भदौ १३ गते पक्राउ परेका थिए।
२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो।
८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो।