गान्तोक: उप-चुनावका दुई क्षेत्र सोरङ-चाखुङ र नाम्ची-सिङ्गीथाङमा आफ्ना उम्मेदवारको नामाङ्कन रद्द गरिएपछि सिटिजन एक्सन पार्टीले अनावश्यक हल्ला मच्चाइरहेको आरोप सत्तारूढ एसकेएम पार्टीले लगाएको छ।उनीहरूको आफ्नै गल्ती र जवाफदेहीताको अभावका कारण नामाङ्कन रद्द भएको बताउॅंदै सीएपीको आरोप र हल्ला राजनीतिक हताशाको प्रमाण रहेको एसकेएम प्रवक्ता योगेन तामाङले आज जारी एक प्रेस विज्ञप्तिमा बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, नामाङ्कन जाँचको क्रममा सीएपीले प्रस्तावकहरूको हस्ताक्षर नक्कली बनाएको स्पष्ट भइसकेको छ। केही प्रस्तावकले सीएपीकै उम्मेदवारलाई पनि चिन्न सकेनन्। हस्ताक्षरहरू प्यान कार्ड, व्याङ्क पासबुक र अन्य कागजातहरूमा रहेका हस्ताक्षरसँग मेल खाएन। एक ठाउँमा त प्रस्तावकको जात नै गलत उल्लेख गरिएको थियो र उनको सही नाम अनि हस्ताक्षर पनि फरक थियो। केही प्रस्तावक त राज्यमा नै उपस्थित थिएनन्, र एक निरक्षर प्रस्तावकले अँगुठाछाप प्रयोग गर्थिन् भने उनको हस्ताक्षर नक्कली बनाइएको थियो।
प्रवक्ता तामाङले अघि भनेका छन्, यस सम्पूर्ण प्रक्रिया चुनाउ आयोगको कडा नियम अनुसार सार्वजनिक रूपमा गरिएको थियो। सबै उम्मेदवारलाई तर्क राख्ने अवसर दिइएको थियो, तर सीएपीले आफ्नो गल्ती प्रमाणित गर्न सकेन। जाँच कोठाबाट बाहिर आएर मिडियामा झूठो बयानबाजी गर्नु केवल आफ्नो गल्ती लुकाउने प्रयास गर्नु हो, जसले “उल्टा चोर कोतवाल को डांटे” भन्ने उक्तिलाई चरितार्थ गरेको छ।