कोरला: नेपालका गृहमन्त्री रमेश लेखकले उपल्लो मुस्ताङको कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालयको बुधबार उद्घाटन गरेका छन्।
चीनसँग सीमाना जोडिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका १, नेचुङमा पर्ने कोरला नाकाको दशगजा नजिक स्थापित अध्यागमन कार्यालय र सशस्त्र प्रहरी बलको (बिओपी) भवन गृहमन्त्री लेखकले उद्घाटन गरे।
गृहमन्त्री लेखकले कार्यालय उद्घाटन गरेसँगै कोरलामा अध्यागमन कार्यालय सञ्चालमा आएको छ। कार्यालय उद्घाटन गर्दै गृहमन्त्री लेखकले चीनसँग सीमाना जोडिएको कोरला नाकामा सरकारले पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको बताए।
अध्यागमन कार्यालय सञ्चालनमा आएसँगै सरकारले नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अगाडी बढाइएको उहको भनाइ थियो। सरकारले कालिगण्डकी कोरिडोर सडकलाई पूर्णता दिन र कोरला नाकामा पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गृहमन्त्री लेखकले बताए।
अध्यागमन कार्यालय उद्घाटनमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि कोराला पुगेका छन्। अध्यागमन कार्यालय सञ्चालनमा आएपछि नाकाबाट वारपार गर्न तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। अध्यागमन कार्यालय स्थापना भएसँगै सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने बताए।
कोरलामा अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा केन्द्रीय विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको उच्च गतिको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ। नाकामा चिनियाँ भन्सारको आमने–सामने निर्मित प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट भवन निर्माण गरिएको छ।
नाकामा भन्सार कार्यालय, क्वारेन्टाइन लगायतका पूर्वाधार निर्माण गरी कोरला नाकाबाट नै एकिकृत सेवा दिने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए। पूर्वाधार निर्माण गरेर नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालय सँगै राख्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए।
कोरनाका कारण चारवर्षदेखि बन्द रहेको उक्त नाका गत वर्षदेखि सञ्चालनमा आएको थियो। नेपाल–चीनबिचको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकाको नेपाल तर्फको भूभागमा अस्थायी संरचना निर्माण गरी नाका सञ्चालनमा ल्याइएको छ।
समुद्र सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाकाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ। अध्यागमन कार्यालय स्थापना भएपछि सबै नेपालीले भिसा लिएर कोरला सीमा वारपार गर्न पाउने भएका छन्। यसअघि मुस्ताङका जनप्रतिनिधिहरुले नेपाल सरकारसँग अध्यागमन कार्यालय स्थापनाको माग गर्दै आएका थिए।
नेचुङ सशस्त्र प्रहरी बलको (बिओपी) भवन निर्माण भएको छ। जोमसोमबाट कोरला नाकासम्म दुई लेनको कच्ची सडक पुगेको छ। नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्दै आएकोमा अध्यागमन कार्यालय सञ्चालनमा आएपछि थप सहज हुनुका साथै सबै नेपालीहरुलाई नाका पार गरेर व्यावसायिक कारोबार गर्न सजिलो हुने लोमन्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताइन।

नाकापारी चिनियाँ पक्षले भने दशगजा छोडेर आधुनिक सूचना प्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ र सुरक्षा प्रबन्धलगायतका पूर्वाधार निर्माण गरेको छ। कोरनाका कारण बन्द रहेको कोरला नाका अघिल्लो वर्षको नवंबर १२ देखि सञ्चालनमा ल्याइएको थियो।