गान्तोक: नाम्ची-सिङ्गीथाङ समष्टिको उपचुनाउका जेनरल पर्यवेक्षक मनीश कुमारले आज सिटीजन एक्सन पार्टीका प्रतिनिधिहरुसंग बैठक गरे। कर्फेक्टार अतिथि गृहमा सम्पन्न बैठकले विभिन्न मुद्दामाथि चर्चा गरेको थियो। पार्टीका उम्मेद्वारहरुको नामाङ्कन पत्र खारिज भएपछि सिटीजन एक्सन पार्टीले जेनरल पर्यवेक्षकसमक्ष बैठकको माग उठाएको थियो। यस बैठकमा क्याप प्रतिनिधिहरूले राखेका प्रस्ताव र गुनासोहरूलाई सुनेपछि पर्यवेक्षकले मागलाई गम्भीरतासित लिइएको र कुनै पनि सम्भावित हस्तक्षेप वा अवरोधहरूमाथि न्याय गर्ने आश्वासन दिए। उनले भारतको चुनाउ आयोगको तर्फबाट स्थिति निगरानी राख्ने आश्वासन पनि दिए। उनले क्यापका प्रतिनिधिहरुले पेश गरेका गुनासोहरुका सम्बन्धमा आवश्यक सबै कारवाही गर्न र प्रतिवेदन तयार गर्न जिल्ला चुनाउ अधिकारीलाई निर्देशन दिने आश्वासन पनि दिए। उनले सेक्टर म्याजिस्ट्रेटलाई पनि यस मुद्दाहरूमा सजग रहन निर्देशन दिएका थिए। उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रक्रियालाई कायम राख्न चुनाउ अवधिमा हुन सक्ने कुनै पनि अनियमितताको छानबिन गर्न स्पष्ट आदेश दिए।










