“आयो दसैँ ढोल बजाउँदै
गयो दसैँ ऋण बोकाउँदै।”
उहिले बूढ़ा-पाकाले भनेका यी माथिका पङ्क्ति अहिले वर्तमानमा सत्यसाबित् भएको देखिन्छ। विशेष गरी यसपाली दशैंमा चिया श्रमिकहरूको दशैं कस्तो भयो र अब तिहार कसरी बित्नेछ सो बारे भुक्तभोगीहरूलाई याद भएकै कुरा हो। जब जब दसैँ तिहार आउँछ अरु कम्पनीका श्रमिकहरू कुन्नि तर चिया श्रमिकहरू प्रत्येक वर्ष छटपटिनुपर्छ। यसपाली पनि त्यस्तै भयो। २० प्रतिशत बोनसको दाबीमा पहाड़का चिया श्रमिकहरूको माग रहेको थियो। तर चिया कमानका मालिकहरूले यो २० प्रतिशत नदिने भयो। फलस्वरुप श्रमिकहरू २० प्रतिशतको निम्ति आन्दोलनमा ओर्ले। तर चिया श्रमिकको बोनस मागलाई चिया कमानका मालिकहरूले दुत्कारे।

वैराती साल जोत, न्यू रङ्गिया, शिव मन्दिर
प्रथमतः बोनस के हो त? बोनस भनेको अतिरिक्त धनराशि हो जो श्रमिकहरूले गरेका राम्रो कामको निम्ति उपहारस्वरुप वा पुरस्कारको रुपमा प्रदान गरिन्छ। अनि प्रत्येक श्रमिकले उक्त धनराशिको अपेक्षा गर्ने गर्दछन्। बोनस प्रत्येक श्रमिकले पाउने अधिकार हो । पश्चिम बङ्गाल बोनस एक्ट १९६५ मा स्पष्टै उल्लेख पाइन्छ –
The Payement of Bonus Act, 1965
This Act applies to : (i) every another establishment employing twenty (20) or more persons.This Act provided for minimum and maximum bonus. The minimum bonus payble to an employ is 8.33% of his wages in the financial year or 100/- whichever is higher & maximum bonus upto Rs. 10,000/- per month is entitled to bonus on the basis of calculation of his wages upto Rs. 3500/-.”
पश्चिम बङ्गाल बोनस एक्ट १९६५ कै आधारमा पहाड़का प्रत्येक चिया श्रमिकहरूले बोनसको माग गर्दछन्। आफ्नै पाउनुपर्ने हक पाउनु पनि प्रत्येक वर्ष प्रत्येक चिया श्रमिकहरूले कम्पनीलाई जदौ गर्नुपर्छ। के हो यस्तो? चियाबगानमा रुझी भिजी, घाम पानी झरी बतास सहँदै विषालु प्राणीसित जोगिँदै आफूले परिश्रम गरी चियाका मुनाहरू टिपेर मालिकलाई मनग्गे नाफा दिलाइदिनुपर्छ तर वर्षमा एकपल्ट आफ्नो पाउनुपर्ने बोनस माग्दा पनि कि कतिपय मालिकले कमानमा सस्पेन्सन अर्डरको सूचना टाँसिदिएर चिया श्रमिकहरूलाई हक्क न बक्क पार्छन् भने कतिपय कमानका मालिकहरू रातोरात कमानबाट सुइँकुच्चा ठोकेका इतिहास जिउँदै छ। कति दुःखलाग्दो कुरो! चिया श्रमिकहरूमाथि किन यस्तो थिचोमिचो, किन हेलचेक्राइँ? यो २० प्रतिशत बोनसको मागमा चिया श्रमिकहरूको आन्दोलन निकै बलियो देखिँदैछ…जुन स्वाभाविक पनि हो । राज्य सरकारले १६ प्रतिशत बोनस दिने कुरो जारी गरे पनि श्रमिक सङ्गठन भने २० प्रतिशत बोनसकै मागमा अड़िएको छ। राज्य सरकारको यो निर्णयलाई सङ्गठनले अस्वीकार गर्दा त्रिपक्षीय वार्ता गर्ने निर्णय भएको श्रमिक सङ्गठनको भनाइ देखिन्छ। १६ प्रतिशत बोनस प्रदान गर्ने निर्णय भए पनि कतिपय चिया बगानतिर त्यो पनि टुक्रा टुक्रा पाराले बोनस श्रमिकहरूको खातामा हालिदिएकोमा कम्पनीप्रति गुनासो छँदैछ। यसपाली दशैंमा भएन तर तिहार पछि अर्थात् ६ नोभेम्बरका दिन कलकत्तामा हुने त्रिपक्षीय वार्तामा रहल ४ प्रतिशत बोनसको छिनाफाना हुने सबैको आशा देखिन्छ तर यो वार्ताको अन्तिम निर्णय के हुने हो त्यो त बैठकपछि नै छिनाफाना हुनेछ भन्ने विशेष सूत्रको भनाइ देखिन्छ।
यसपाली बोनस आन्दोलनले निकै हलचल नमचाएको होइन। श्रमिक भवनमा विक्षोभ फेरि १२ घण्टा पहाड़ बन्द पनि डाकियो। बोनस आन्दोलनको यो पदक्षेप आवश्यक पनि थियो। यो बोनस आन्दोलन पहाड़मा सर्वप्रथम हो। अब यो बोनस आन्दोलनको परिणाम ६ नोभेम्बरको दिन कोलकातामा साङ्गे हुनु र मालिक पक्ष यो २० प्रतिशत बोनस राजी भए यसमा श्रमिकवर्ग मात्र नभएर बोनस आन्दोलन नेतृत्व गर्ने श्रमिक सङ्गठन महाविजय हुनेछ भन्ने सबैको मत देखिन्छ। हामी पनि चाहन्छौं कलकत्तामा हुने तेस्रो वार्तामा यो निर्णय सफल होस्…चिया श्रमिकहरूको भोलिको बिहान उज्यालो होस्। किनभने चियाबगानमा हजारौं हजारौं चिया श्रमिकको रगत पसिना त्याग बलिदान फुर्मास भएको छ।