इन रुवा: कोशी टप्पु बन्यजन्तु आरक्षमा संरक्षण गरिएका बन्यजन्तुले सुनसरीसंग सिमाना जोडिएको भारतीय गाँउ वस्तीमा हुलका हुल चहलपहल गर्न थालेपछि भारतीय नागरिकहरु आतंकित बनेका छन्।
सप्तकोशी नदीमा आएको बाढीसंगै कोशी टप्पुबाट सुरक्षित स्थानको खोजीमा नजिकैको भारतीय भूमीमा गएका बन्यजन्तुमा अर्ना, निलगाई, बँदेल, बाँदर, मृग, हरिण, गोही, अजिङगरलगायतका बन्य जन्तुहरु रहेका छन्।
दैनिक रुपमा भारतीय नागरिकको खेतबारीमा आहाराको खोजीमा निस्किने बन्यजन्तुको हुलले बालीनाली हानी नोक्सानी गर्नुका साथै मानिसलाई पनि आक्रमण गर्न थालेपछि उनीहरु आतंकित बनेका हुन्।
अर्नाको आक्रमणबाट दुईसाता अगाडि दुईजना भारतीय नागरिकको मृत्यु भएको थियो भने सातजना घाइते बनेका थिए। बाँदरको आक्रमणबाट सो क्षेत्रमा दुईदर्जन बढी भारतीय नागरिकहरु घाइते बनेका छन्।
२०२४ अक्टूबर २२मा सुनसरीको सीमा जोडिएको भारतको भिमनगरमा एक स्थानीयको घरसँगै जोडिएको पोखरीमा ४ वटा आठ फिट भन्दा लामो २ सय केजी बराबरका मगरमछ गोही फेला परेका छ।ति गोहीलाई भारतीय सुरक्षाकर्मीले उद्धार गरि लगेका छन्।
घर आसपास बन्यजन्तु आउन थालेपछि भारतीय नागरिकहरु घरभित्र बसेर खेतबारीमा काम गर्न जान छाडेका छन्।
कोशीमा बाढीका कारण भारतीय भूमीमा गएका आरक्षका बन्यजन्तुका कारण सो क्षेत्रका स्थानीयहरुका बालीनालीमा हानी नोक्सानी गर्नुका साथै मानिसलाई आक्रमण गर्ने क्रम बढेको भन्दै सवै बन्यजन्तुलाई नेपालतर्फ लखेटन मांग गर्दै दैनिक आन्दोलित समेत बन्ने गरेका छन।
सप्तकोशी नदीमा २०२४ सेप्टेम्बर २८को साँझमा आएको बाढीका कारण कोशी बन्यजन्तु आरक्षभित्र रहेका विभिन्न प्रकारका जिवजन्तुहरु आफ्नो बासस्थान छाडेर सप्तकोशी नदीको पूर्वी तटबन्ध हुँदै नजिकैको भारतीय गाँउमा पुगेका थिए।
आरक्षबाट सुरक्षित स्थानमा पुगेका बन्यजन्तु भारतको बिहार राज्य सुपौल जिल्लाको बसन्तपुर प्रखण्ड अन्तर्गत रहेको भिमनगर, रानीगञ्ज र कटैया पावर हाउस आसपासका गाउँ बस्तीको खेतबारी झाडीमा आश्रय लिएर बसिरहेका छन्।