काठमांडू: एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो।
दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे।उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे। हानी मोहमेदले २१औं र अल मार्जोउकीले ८६औं मिनेटमा गोल गरे।
समूहमा लगातार दोस्रो हार व्यहोरेपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना पनि सकिएको छ। यसअघि पहिलो खेलमा नेपाल साविक विजेता जापानसँग ९-२ ले पराजित भएको थियो। उता पहिलो खेलेमा मंगोलियाविरुद्ध २-० को कठिन जित निकालेको घरेलु टोली कतारले नेपालमाथि सहज जित निकालेपछि अन्तिम चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
यस्तै अर्को खेलमा जापनले मंगोलियालाई ७-० ले हरायो। जापान र कतारले लगातार दुई खेल जितेर समान ६ अंक जोडेका छन्। गोल अन्तरका कारणमा जापान शीर्ष र कतार दोस्रो स्थानमा छ। अब यी दुई टोलीबीच आइतबार हुने खेलबाट समूह विजताको टुङ्गो लाग्नेछ। यस्तै लगातार दुई खेल हार्दै अंकविहीन रहेको नेपाल र मंगोलियाबीच आइतबारै प्रतिष्ठाका लागि खेल हुनेछ।