गान्तोकमा आरम्भ भयो दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव २०२४

IMG-20241026-WA0290

गान्तोक: परी प्रकाशन सोरेङको तत्वावधानमा आजदेखि गान्तोकको मनन केन्द्रमा दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव २०२४ आरम्भ भयो। वरिष्ठ साहित्यकार एवं कवि डा. राजेन्द्र भण्डारीको सभाध्यक्षतामा आयोजित आजको उद्घाटन समारोहमा अन्य अतिथिहरूको साथमा परी प्रकाशनका प्रमुख संरक्षक तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको पनि विशेष उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवको पहिलो दिनको कार्यक्रममा “समकालीन नेपाली साहित्यमा देखिएका प्रयोग, प्रभाव एवं प्रवृत्तिहरू” विषय माथिको सामूहिक चर्चा प्रमुख आकर्षण रहेको थियो। चर्चाका स्रोतवक्ताहरूमा पोखरा नेपालका डा. रामचन्द्र पोख्रेल, सिक्किम विश्वविद्यालयबाट प्राचार्य कविता लामा, आसामबाट ज्ञानबहादुर छेत्री, कालेबुङबाट सुधीर छेत्री र नाम्ची महाविद्यालयका डा. दुर्गा छेत्री रहेका थिए। साङ्गीतिक एवं सांस्कृतिक प्रस्तुतीको साथमा आयोजित आजको कार्यक्रममा सभाध्यक्षको सम्बोधन राख्दै डा. राजेन्द्र भण्डारीले सिक्किम राज्यमा घटेका विभिन्न घट्नाक्रमहरूमाथि पनि साहित्य लेखिनुपर्ने कुरामा जोर दिए। यसको साथै उनले आगामी दिनमा साहित्यको क्षेत्रमा हुनसक्ने “आर्टिफिस्यल इन्टेलिजेन्स” को प्रभालाई लिएर चिन्ता व्यक्त गर्दै साहित्यको मौलिकतालाई बचाएर राख्नुपर्ने बताए।
आयोजकपक्षले जानकारी गराएअनुसार विविध साहित्यिक कार्यक्रमको साथमा सम्पन्न हुने भोलि समापोन समारोहमा पनि मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थिति रहनेछ।

About Author

Advertisement