कालेबुङ: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा एसडीपी (सेल्फी डाँड़ा पन्बु)-ले फाइनलमा स्थान बनायो। सम्थार खेल मैदानमा शुक्रवार भएको दोस्रो सेमिफाइनल म्याचमा एसडीपी-ले नेताजी युथ क्लब (सेवोक)-विरुद्ध ८-३-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट कुञ्जमान थापा एक्लैले ४ गोल गरे। उनले दोस्रो, ११औं, ४२औं र ७१औं मिनटमा गोल गरे। यसबाहेक नरेन्द्र (नन्दु) राईले २९औं, मिंगमा शेर्पाले ४१औं, प्रवीण सुब्बाले ५६औं र प्रशान्त थापाले ७३औं मिनटमा गोल गरे। यसरी एनवाईसी-बाट म्याक्सवेलले सातौं, इवानले २१औं र साल्वियनले ५७औं मिनटमा गोल गरे। म्याचको अवधि खेलको अनुशासन भंग गर्दा म्याक्सवेललाई रेड कार्ड देखाइयो। असाधारण प्रदर्शनको निम्ति कुञ्जमान थापालाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने फाइनलमा सेल्फी डाँड़ा पन्बु र ब्रदर्स बाई हार्टबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









