मंगलबार दक्षिणी लेबनानको एउटा घरमा इजरायली आक्रमणमा परी ६ महिला र पाँच बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय लेबनानी अधिकारीले बताएका छन्। मृत्यु हुनेमा विद्यालयका पूर्व प्रधानाध्यापक अहमद एजेदिन र उनको परिवारका तीन पुस्ता रहेका साउद हम्मौदले बीबीसीलाई बताए। टेफाहाटा गाउँको तीनतले भवनमा परिवारका सबै सदस्य सँगै बस्थे। आक्रमणमा सोही गाउँका इमाम शेख अब्दो अबो रायको मृत्यु भएको उनले बताए। आक्रमण हुँदा इमाम दुई अन्य व्यक्तिसँग भवन नजिकै हिँडिरहेका थिए। इजरायली सेनाले यस घटनामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, तर इजरायली सेनाले बारम्बार भनेको छ कि उसले आक्रमणबाट नागरिकहरूलाई बचाउन कदम चालेको छ। इजरायली सेनाले गत चार हप्तामा लेबनानमा हजारौं हवाई आक्रमण गरेको छ। सेनाले हिजबुल्लाह अपरेटरहरू, पूर्वाधार र हतियारहरूलाई लक्षित गरेको बताएको छ।