बिराट चौक: झापा-११ फुटबल क्लब मोरङको बेलबारीमा जारी ७औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको फाइनल प्रवेश गरेको छ।
बेलबारी-११ लक्ष्मीमार्गमा बिहीबार भएको खेलमा झापाले बुटवल लुम्बिनी फुटबल क्लबलाई २-० गोल फरकमा पराजित गर्दै उपाधिनजिक पुगेको हो। झापाको जितमा आशिष चापागाईं नायक बन्दै निर्णायक २ गोल गरेका थिए।
खेलको २८औं मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
७५औं मिनेटमा बुटवलका डिफेन्स एन.मेन्डी इबोसिइको डी-बक्सभित्र ‘हेन्ड’ भएपछि झापाले पेनाल्टी सुटको अवसर प्राप्त गरेको थियो। पेनाल्टीमार्फत आशिषले अग्रतालाई दोब्बर पारे। ८९औं मिनेट बुटवलले पाएको गोलको राम्रो अवसर चुकायो। एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएको थियो। खेलको म्यान अफ दी म्याच आशिषले नगद ५ हजार र ट्रफी प्राप्त गरे।
उनलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले पुरस्कार प्रदान गरे। एलएक्स सीटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार काठमांडूको चित्लाङ फुटबल क्लब र सिराहाको सलहेस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।