चक्रवाती आँधी आउँदै

cyclone-copy1-2

कोलकाता: चक्रवात आँधी ‘दाना’ आज राति वा शुक्रबार बिहान ओडिशाको पुरी तट र पश्चिम बंगालको सागरद्वीपमा पुग्ने सम्भावना छ। आँधीको गति १०० देखि १२० किलोमिटर प्रतिघण्टा हुनसक्ने भएकाले दुवै राज्यमा व्यापक तयारी गरिएको छ। चक्रवातको प्रभावका कारण धेरै ठाउँमा वर्षा शुरु भइसकेको र तापक्रममा पनि गिरावट आएको छ। ओडिशा सरकारले चक्रवातलाई ध्यानमा राख्दै १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने लक्ष्य राखेको छ। हालसम्म २ हजार ३ सय गर्भवती महिलासहित ३ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मुख्यमन्त्री मोहनचरण माझीले आफ्नो उद्देश्य शून्य क्षति सुनिश्चित गर्ने बताए। राज्यमा ७ हजार भन्दा बढी चक्रवात आश्रयहरू तयार गरिएको छ, र एनडीआरएफ र ओडीआरएएफ टोलीहरू तैनाथ गरिएको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि चक्रवात ‘दाना’को अवस्थालाई लिएर नवान्न (सचिवालय) मा राति बस्ने निर्णय गरेकी छन्। राज्यपाल डा सी भी आनन्द बोसले जनतालाई आश्वासन दिए कि बंगालका जनताले आत्मविश्वास र धैर्यताका साथ यो आँधीको सामना गर्नेछन्।

चक्रवातका कारण भुवनेश्वर विमानस्थलबाट हुने उडानमा समेत असर पर्नेछ। मौसम विभागको प्रक्षेपण अनुसार अक्टोबर २४ देखि २५ सम्म करिब ४५ उडान रद्द वा ढिलाइ हुनेछन्। चक्रवात ‘दाना’ को प्रभावका कारण ओडिशाको तटीय क्षेत्रमा समुद्रमा उच्च छालहरु देखिन थालेका छन्। धामरा क्षेत्रमा हावाहुरी चल्नका साथ पानी परिरहेको छ। अधिकारीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेका छन्। चक्रवात ‘दाना’ को गम्भीरतालाई ध्यानमा राख्दै सबै नागरिकलाई सुरक्षित स्थानमा जान र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

About Author

Advertisement