म्यान्मारका लागि यूकेकी पूर्वराजदूत विकी बोमन र उनका श्रीमान्लाई म्यान्मारका सैन्य अधिकारीहरूले पक्राउ गरेका छन्। उनलाई भिसा नियम उल्लङ्घन गरेको र उनका श्रीमान्माथि उनलाई म्यान्मारमा बस्न सहयोग गरेको आरोप लगाइएको छ।त्यस्तो कसुरमा म्यान्मारमा पाँच वर्षसम्म जेल चलान चलान हुनसक्छ। बोमनले सन् २००२ देखि २००६ सम्म म्यान्मारको राजदूतका रूपमा काम गरेकी थिइन्। बोमनले याङ्गुनमा म्यान्मार सेन्टर फर रेस्पोन्सिबल बिजनेस संस्था सञ्चालन गरिरहेकी छिन्। उनले बर्माका कलाकार र पूर्व राजनीतिक बन्दी टेन लिनसँग विवाह गरेकी थिइन्। आगामी ६ सेप्टेम्बरका लागि तय भएको सुनुवाइअघि यो जोडीलाई इन्सेन जेलमा राखिएको छ।
यूकेको दूतावासले उनलाई परामर्श उपलब्ध गराइएको जनाएको छ। उनले सञ्चालन गरेको संस्थाले “म्यान्मारमा जिम्मेवार व्यापार प्रवर्द्धनका लागि प्रोत्साहन गर्ने अभियान”को रूपमा चिनाउने गरेको छ। यसले अर्को संस्था इन्सटिच्यूड फर ह्युमन राइट्स एण्ड बिजनेससँग सहकार्य गर्दै आएको छ। सहकार्य गरेको संस्थाको उद्देश्य “दैनिक व्यवसायका क्रममा मानव अधिकारको सम्मान गर्ने” राखिएको छ। म्यान्मारको सैनिक सत्तामाथि व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लाग्दै आएको छ। देशको जनमत आन्तरिक द्वन्द्वका कारण विभाजित भइरहँदा यसै महिनाको शुरुमा सैनिक अधिकारीहरूले सङ्कटकालीन शासन सन् २०२३ सम्म लम्ब्याउने निर्णय लिएका थिए।
त्यहाँको सैनिकले प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित आङ सान सूचीको सरकारलाई अपदस्त गर्दै गत वर्ष सत्ता हातमा लिएको थियो। मानवता विरोधी गतिविधिहरूबारे विवरणहरू सार्वजनिक भइरहँदा गत जुलाईमा म्यानमारको सेनाले चार जना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दियो। त्यहाँ दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको हो। भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई “आतङ्ककारी गतिविधि” गरेको आरोप लगाइएको थियो। कूको विरोधमा गठन गरिएको छाया सरकारले त्यस मृत्युदण्डको निन्दा गरेको थियो। गत वर्षको कूपछि विपक्षी अभियानकर्मीहरूले नागरिक अवज्ञाका लागि अभियान सीडीएम गठन गर्दै म्यान्मारमा ठूला प्रदर्शन र हडताल गर्दै आएका छन्। संयुक्त राष्ट्रसङ्घले म्यानमारमा मानवीय सङ्कट गहिरिइरहेको भन्दै चेतावनी दिएको छ। उसले त्यहाँ “हिंसा तीव्र बनेको र गरिबी उच्च दरमा बढेको” जनाएको छ। अमेरिका, यूके र युरोपेली सङ्घले सैन्य अधिकारीहरूमाथि प्रतिबन्धहरू लगाएका छन्।