सिक्किम कलाकार संघको २५औँ स्थापना दिवस तयारीलाई लिएर बैठक

गान्तोक: सिक्किमे कलाकार सङ्घ, गान्तोकको गत १ अगस्त,२०२२ को दिन बसेको बैठकले निर्णय लिए अनुरूप सङ्घको २५औँ स्थापना दिवस आगामी ४ सेप्टेम्बरको दिन राज्यस्तरीय रूपमा आयोजन गरिने भएको छ।
सिक्किम विधान सभाका अरुण उप्रेतीको प्रमुख आतिथ्य एवम् रुद्र पौड्याल, अध्यक्ष, नेपाली साहित्य परिषद् सिक्किमको अध्यक्षतामा सम्पन्न गरिने भएको छ। यस भव्य समारोहमा मूलतः राज्यस्तरीय रूपमा बृहत् सम्मान कार्यक्रम र सङ्घको मुखपत्र कला मञ्जरी अनि सङ्घका नाम्ची जिल्ला प्रभारी विक्रम गौतमद्वारा लिखित ढुङ्गे फलैँचा, दूबो र वर–पिपल नामक कृति लगायत तीज पर्वमाथि आधारित गायिका ममता लामाको गीति सँगालो तिम्रै लागि पनि लोकार्पण गरिने भएको छ। यस भव्य समारोहमा सक्किमलगायत दार्जीलिङ, खरसाङ ,कालेबुङ, सिलगढ़ी तथा डुर्वस भेगका ख्यातिप्राप्त कलाकारहरूको विशेष उपस्थिति रहने संस्थाद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसरी नै बैठकले निर्णय लिएअनुरूप लगभग ३ सय जना सदस्यहरू रहेको सिक्किमे कलाकार सङ्घ, गान्तोकको वार्षिक साधारण सभा आगामी १८ सितम्बर, २०२२ को दिन आयोजन गरिने भएको छ। यस वार्षिक साधारण सभाले सिक्किमे कलाकार सङ्घको नयाँ कार्यकारिणी समितिको लागि चुनाउको मिति तय गर्ने, चुनाउ आयोग मनोनयन गर्दै आयोगलाई यथाशीघ्र चुनाउको अधिसूचना जारी गरिने निर्णय लिएको छ। चुनाउको सम्पूर्ण प्रक्रिया समाप्त भएपछि वर्तमान कार्यकारिणी समितिले औपचारिक रूपमा नयाँ कार्यकारिणी समितिलाई कार्यभार हस्तान्तरण गर्ने निधो लिएको छ। सङ्घको यस २५औँ स्थापना दिवस अनि वार्षिक साधारण सभामा उपस्थित हुन वर्तमान समिति हार्दिक निमन्त्रणा गरेको छ।

About Author

Advertisement