सोरेङ: सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाले उप चुनाउको लागि उम्मेदवारहरुको आइतबार नाम घोषणा गरेको एक दिन लगत्तै पछि सोरेङ-च्याखुङ समष्टिका उम्मेदवार पूर्व विधायक आदित्य गोलेले आज दिउँसो ठिक २ बजेर ४५ मिनेटमा सोरेङ जिल्ला कार्यालयमा जिल्लाका चुनाउ अधिकारी समक्ष नामङ्कन पत्र बुझाए। उम्मेदवार आदित्य गोलेले नामाङ्कन पत्र बुझाउन अघि सोरेङ डाँडा बजारदेखि पार्टी समर्थकहरुले भव्य स्वागत जनाएका थिए। सोरेङ र गेजिङ जिल्लाका वरिष्ठ उपाध्यक्ष प्रभारी एवं पूर्वमन्त्री आरबी सुब्बा, विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्री भीमहाङ सुब्बा, विधायकगण क्रमैले लोकनाथ नेपाल, इरुङ तेञ्जिङ लेप्चा, मदन सेञ्चुरी, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, स्टेट बैंक अफ् सिक्किमका अध्यक्ष एवं सोरेङ जिल्लाका उपाध्यक्ष प्रभारी डीबी गुरुङ, जिल्ला पञ्चायत अध्यक्ष, उपाध्यक्ष, पार्टीका विभिन्न प्रकोष्ठका पदाधिकारीगण र पार्टी समर्थकहरुको भारी उपस्थिति थियो।
आज उम्मेदवार आदित्य गोलेलाई सोरेङ-च्याखुङका पार्टी कार्यकर्ताहरुले मल्ली र चिरबिरेमा पनि भव्य स्वागत जनाए। उम्मेदवार गोलेले नामङ्कन पत्र बुझाउनु भन्दा अघि सिङलिङस्थित आफ्नो पैतृक घरमा पूजापाठ गरे अनि आफ्नी बोज्यु धन माया तामाङ र आमा शारदा तामाङबाट आशिर्वाद लिए। पछि पार्टी कार्यकर्ताहरुले उम्मेदवार गोलेलाई सोरेङ डाँडा बजारदेखि भव्य स्वागत गरेर बजार परिसर हुँदै गगनवेदी नाराको साथमा नामङ्कनको निम्ति जिल्ला कार्यलयसम्म पुर्याएका थिए। स्मरण रहोस्, गत अप्रेल महिनामा सम्पन्न ११औं सिक्किम विधानसभा चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चाले ३२ मध्ये ३१ आसनमा विजय हासिल गरेर दोस्रो पटक सरकार गठन गरेको छ। सरकार गठन भएपछि स्यारी निर्वाचन क्षेत्रबाट विजयी बनेका एसडीएफ पार्टीका एकल विधायक पनि एसकेएम पार्टीमा सामेल भइसकेको छ। एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेले गत ११औं विधानसभा चुनाउमा सोरेङ-च्याखुङ र रिनाक समष्टिबाट अनि उनी धर्मपत्नी कृष्ण कुमारी राईले नाम्ची-सिङ्गीथाङ समष्टिमा भारी मतले विजय हासिल गरेका थिए। पछि मुख्यमन्त्री गोलेले जीत हासिल गरेका दुईवटा आसन मध्ये एउटा आसन छोड्नुपर्ने कानुन अनुसार उनले सोरेङ-च्याखुङ समष्टिको विधायक पदबाट राजिनामा दिएका थिए। यसरी नै मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राईले नाम्ची-सिङ्गीथाङ समष्टिको विधायकको पदबाट राजिनामा दिएकी थिइन्। यी दुवै समष्टिमा आगामी १३ नोभेम्बरको दिन मतदान हुन गइरहेको छ। ज्ञात रहोस्, उप चुनाउको निम्ति उम्मेदवारहरुले नामङ्कन पत्र बुझाउने अन्तिम मिति २५ अक्टोबर रहेको छ। यसरी नै नामङ्कन पत्रको जाँच २८ अक्टोबरमा अनि उम्मेदवारहरुले नामङ्कन पत्र फिर्ता लिने समय ३० अक्टोबरसम्म तोकिएको छ। उप चुनाउको मतगणना २३ नोभेम्बरको दिन सम्पन्न हुने छ।











