बेंगलुरु: भारतले न्यूजील्याण्डविरुद्ध पहिलो टेस्ट म्याचमा हारबाट बाँच्ने लड़ाइँ जारी राख्यो। म्याचमा भारतको पहिलो ईनिंग्स केवल ४६ रनमा समाप्त भएपछि न्यूजील्याण्डले आफ्नो पहिलो ईनिंग्समा ४०२ रन बनायो। यसरी पहिलो ईनिंग्सको आधारमा ३५६ रनले पछाड़िने भारतले आफ्नो दोस्रो ईनिंग्समा म्याच बचाउने प्रयास गर्दै असल ब्याटिंग गऱ्यो। यसैकारण भारतले शुक्रवार तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ३ विकेट गुमाएर २३१ रन बनायो। तेस्रो दिनको खेल समाप्त हुँदासम्म सरफराज खान ७० रनमा अविजित रहे। विराट कोहली दुर्भाग्यवश दिनको अन्तिम ओभरको अन्तिम बलमा आउट भए। उनले ७० रन बनाए। सरफराज र कोहलीले मिलेर तेस्रो विकेटको निम्ति १३६ रनको पार्टनरशीप गरे। सरफराजले ७८ बल खेलेर ७ वटा चौका र ३ वटा छक्का लगाइसकेका छन्। यसरी कोहलीले१०२ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। यी दुईजना बाहेक भारतको दोस्रो ईनिंग्समा कप्तान रोहित शर्माले ५० र यशस्वी जयसवालले ३५ रन बनाए। रोहित र जयसवालले पहिलो विकेटको निम्ति ७२ रनको पार्टनरशीप गरेर टीमलाई असल शुरुवात दिलाए तर यी दुईजना पछिबाट लगातार अन्तरालमा आउट हुँदा भारत समस्यामा परेको थियो। त्यहाँबाट कोहली र सरफराजले लड़ाकू प्रदर्शन गरे। रोहितले ६३ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। न्यूजील्याण्डका बलरहरूमा एजाज पटेलले २ विकेट लिए। यसअघि आज बिहीवारको स्कोर ३ विकेटमा १८० रनदेखि अघि खेल्दै न्यूजील्याण्डले ४०२ रन बनायो। न्यूजील्याण्डको पहिलो ईनिंग्समा रचिन रविन्द्रले १३४ रन बनाए। आफ्नो शतकीय ईनिंग्समा उनले १५७ बल खेलेर १३ वटा चौका र ४ वटा छक्का लगाए। भारतले आज बिहानको सत्रमा लगातार विकेट हासिल गरे पनि रचिनले क्रीजमा आत्मविश्वासको साथ ब्याटिंग गरे। एक समय त न्यूजील्याण्डले २३३ रनमा ७ विकेट गुमाइसकेको थियो। त्यहाँबाट रचिनले पूर्व कप्तान टिम साउदीसँग मिलेर आठौं विकेटको निम्ति १३७ रनको पार्टनरशीप गरी न्यूजील्याण्डलाई मजबूत स्कोरसम्म पुऱ्याउनको साथै भारतीय बलरहरूलाई थकित पारे। साउदीले ७३ बल खेलेर ६५ रन बनाए, जसमा ५ वटा चौका र ४ वटा छक्का सामेल छ। कुलदीप यादवले रचिनलाई आउट गरी न्यूजील्याण्डको पहिलो ईनिंग्स समाप्त गरे। भारतीय बलरहरूमा कुलदीप र रविन्द्र जडेजाले ३-३ विकेट लिए। यसबाहेक मोहम्मद सिराजले पनि २ विकेट हासिल गरे।