सिक्किमको दुईवटा निर्वाचन क्षेत्रमा १३ नोभेम्बरमा मतदान हुने

04-3

गान्तोक: राष्ट्रिय राजधानीमा आज आयोजित एक प्रेस सम्मेलनमा आयोगका पदाधिकारीहरूले आगामी चुनाउहरूको निम्ति मिति घोषणा गरे।आयोग अनुसार, सिक्किममा १३ नोभेम्बरका दिन मतदान हुनेछ भने २३ नोभेम्बरका दिन मतगणना हुनेछ। उपचुनाउलाई लिएर आगामी १८ अक्टोबरका दिन अधिसूचना जारी हुनेछ। उम्मेदवारहरूले २५ अक्टोबरसम्म नामाङ्कन बुझाउन सक्नेछन् भने २८ अक्टोबरमा नामाङ्कन पत्र जॉंच हुनेछ। उम्मेदवारहरूले ३० अक्टोबरसम्म आफ्नो नामाङ्कन फिर्ता लिन सक्नेछन्।उल्लेखनीय छ, सिक्किममा सोरेङ च्याखुङ र नाम्ची सिङ्गीथाङमा उपचुनाउ प्रस्तावित छ। यसै वर्ष सम्पन्न भएको विधानसभा चुनाउमा मुख्यमन्त्री प्रेमसिंह तामाङले दुईवटा निर्वाचन क्षेत्रबाट चुनाउ लडेका थिए। मुख्यमन्त्रीले दुईवटै निर्वाचन क्षेत्रबाट जित हासिल गरेपछि आफ्नो गृह निर्वाचन क्षेत्र सोरेङ च्याखुङबाट राजीनामा दिएका थिए। मुख्यमन्त्री तामाङ अहिले रिनाक निर्वाचन क्षेत्रका विधायक हुन्। यसैगरी, मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राई नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट चुनाउ लडेकी थिइन् भने उनी चुनाउमा विजयी बनेकी थिइन्। तर, शपथ ग्रहण गरेको भोलिपल्ट नै उनले नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट राजीनामा दिएकी थिइन्। उक्त दुईवटा निर्वाचन क्षेत्रमा उपचुनाउ प्रस्तावित थियो भने आज आयोगले उपचुनाउको निम्ति मिति घोषणा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement