गान्तोक: पाक्योङ जिल्लाका जिल्लापाल टाशी छोपेलले लगाताररुपमा विभिन्न पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन्। यहीक्रममा आज उनले रंगेली महकुमाअन्तर्गत रंगेली, छुजाचेन, लामातेन गाउँहरूको पैह्रो प्रभावित क्षेत्रहरूको भ्रमण गरे। यसक्रममा निरीक्षण टोलीमा महकुमा अधिकारीहरु, ग्रामविकास अधिकारीहरु, विभिन्न सम्बन्धित विभागका अधिकारीहरु, कर्मचारीहरु र पञ्चायत प्रतिनिधिहरु सहभागी थिए।
स्मरण रहोस्, अविरल वर्षाका कारण धेरै ठाउँमा पैह्रो गएको छ। यसअन्तर्गत रंगेली अस्पताल मुनि रहेको एउटा आवासीय भवन पनि भारी वर्षाका कारण भत्किएको छ। जिल्लापालले प्रभावित परिवारलाई सबै सम्भव सहयोगको आश्र्वासन दिएका छन्। सड़क निर्माण कम्पनी एनएचआईडीसीएललाई प्रशासनसँग समन्वय गरी काम गर्न निर्देशन दिएका छन्। टोलीले सरकारी प्राथमिक स्कूल पोसकेको पनि भ्रमण गरेको थियो।