पैसा नहुँदा बनेनन् झापाका १७५ वटा सिसी क्यामेरा

IMG-20241014-WA0134

झापा (भद्रपुर): झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन।
सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान गरिएका सिसी क्यामेरा चट्याङ, अनियमित विद्युत आपूर्ति, सडक विस्तारले खराब भए पनि मर्मत सम्भारको अभावले प्रयोगविहीन बनेका हुन्।
प्रविधिको प्रयोगले सुरक्षा अवस्था निगरानी गर्ने उद्देश्यका साथ प्रहरी र स्थानीय संघसंस्थाको सहयोगमा लाखौँ खर्चिएर काँकरभिट्टा, धुलाबारी, बिर्तामोड, सुरुङ्गा, दमक लगायतका स्थानमा ५४८ वटा सिसी क्यामेरा जडान गरिएको छ।
जडान गरिएकामध्ये १७५ वटा सिसी क्यामेरा लामो समयदेखि बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।
मुख्य सहरका राजमार्गमा जडान गरिएका अधिकांश सिसी क्यामेरा मर्मत सम्भारको अभावमा खिया लागेर थोत्रिन थालेका उनी बताउँछन्। बजेट अभावका कारण मर्मत सम्भार गर्न नसकिएको हो।
अपराध नियन्त्रण र प्रमाण सकंलनको भरपर्दो माध्यमका रुपमा प्रयोग भइरहेका सिसी क्यामेराहरू बिग्रिँदा सुरक्षा चुनौती बढ्दै गएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला बताउँछन्।
विशेषगरी सिसी क्यामराको सहयोगमा दुर्घटना गराएर भाग्नेहरूलाई समाउन धेरै सजिलो हुने भए पनि पछिल्लो समय एसियन हाइवे सडक विस्तारले सिसी क्यामरामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए।
जसका कारण दुर्घटना गराएर भाग्ने सवारी साधन पहिचानमा प्रहरीलाई समस्या उत्पन्न हुन थालेको उनको भनाइ छ। कुनै पनि घटनाको अनुसन्धान, विश्लेषण गर्न सिसी टिभी रेकर्डेड छ भने धेरै कुरामा सहयोग पुग्ने झापाका प्रहरी प्रमुख एसपी मिलन केसी बताउँछन्।
सिसी टिभी बिग्रिएको वर्षौं बितिसक्दा पनि यसको मर्मत सम्भार नहुँदा दिनदहाडै चोरी लुटपाट र डकैतीका घटनाहरू समेत बढ्न थालेका छन्। बिर्तामोड क्षेत्रमा पनि धेरै सिसी क्यामरा बिग्रिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्ट बताउँछन्।
सिसी क्यामेराको दीर्घकालीन व्यवस्थापन कुन स्रोतबाट कसरी गर्ने भन्ने योजनाबिना सिसी क्यामेराहरू जडान गरिएका कारण मर्मत सम्भारमा समस्या उत्पन्न भएको सरोकारवालाको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement