गान्तोक: राजधानीको चिन्तन भवनमा आज आयोजित अन्तरराष्ट्रिय बालिका दिवस कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा सहभागी बने। मुख्यमन्त्रीले उक्त कार्यक्रम विश्वभरिकै बालिकाहरूको अधिकार र क्षमतालाई पहिचान गर्ने र प्रवर्द्धन गर्ने एउटा उल्लेखनीय अवसर रहेको सोशल मिडिया फेसबुकमा बताएका छन्।
मुख्यमन्त्रीले भने, सिक्किममा हामीले शिक्षा र सामुदायिक पहलहरू मार्फत लैङ्गिक समानतालाई अगाडि बढाउन र युवा केटीहरूलाई सशक्त बनाउन महत्त्वपूर्ण प्रगति गरेका छौं। हाम्रो सरकारले शैक्षिक आकांक्षालाई बढावा दिने र बहिनी योजनाजस्ता परिवर्तनकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। उनले चिन्तन भवनमा यो दिन मनाउनु, प्रगतिशील मूल्यहरूप्रति हाम्रो प्रतिबद्धताको प्रतीक हो भन्दै यसले हाम्रा बालिकाहरूको पालनपोषण र उत्थानको महत्त्वलाई सुन्दर ढंगले रेखांकित गर्दछ ताकि उनीहरूले आफ्ना सपनाहरू हासिल गर्न सकून् भनी बताएका छन्।मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा विश्व ब्याङ्कले राज्यका महिला एवं युवाहरूको प्रशिक्षण, कौशल विकास र महत्वपूर्ण क्षेत्रहरूमा रोजगारको अवसर प्रदान गर्न सरकारको प्रयासलाई प्रोत्साहित गर्दै नयॉं परियोजना अनुमोदन गरेको जानकारी गराए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले २२ जनवरी, २०१५ मा शुरू गरेको बेटी बचाऔ, बेटी पढाऔ योजनामाथि पनि प्रकाश पारे। उनले यस पहलले बालिकाहरूको निम्ति न्याय सुनिश्चित गर्ने र भेदभावमुक्त समाज निर्माणको लक्ष्य लिएको छ भने। मुख्यमन्त्रीले भने, यो पहल हाम्रो सामूहिक प्रतिबद्धताको उदाहरण हो, जसले प्रत्येक बालिकालाई शिक्षा, स्वास्थ्य सेवा र व्यक्तिगत एवं व्यावसायिक विकासको अवसर सुनिश्चित गर्दछ। उनले हामी सबै मिलेर सिक्किम र बाहिरका प्रत्येक बालिकाको कल्याणका लागि अर्थपूर्ण योगदान दिन सक्ने थप समानतापूर्ण समाजको लागि काम गर्न सक्छौं भनी बताए। मुख्यमन्त्रीले सबैको उज्जवल भविष्यको निम्ति प्रयास जारी राखौं भनी आह्वान पनि गरेका छन्।











