नयाँ दिल्ली: भारतले आफ्नो उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै बंग्लादेशलाई दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा सजिलैसँग ८६ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले ३ वटा टी२० म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। सीरीजको तेस्रो तथा अन्तिम म्याच शनिवार हैदराबादमा खेलिनेछ। यहाँको अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ९ विकेट गुमाएर २२१ रनको विशाल स्कोर बनायो। आफ्नो दोस्रो टी२० इण्टरनेशनल म्याच खेलिरहेका अलराउण्डर नितिश कुमार रेड्डीले ३४ बल खेलेर सर्वाधिक ७४ रन बनाए। उनले ७ वटा छक्का र ४ वटा चौका लगाए। यसबाहेक रिंकू सिंहले २९ बलमा ५ वटा चौका र ३ वटा छक्काको साथ ५३ रन बनाए। एक समय भारतले ४१ रनमै ३ विकेट गुमाएको थियो तर रेड्डी र रिंकूले चौथो विकेटको निम्ति तेजीको साथ १०८ रनको पार्टनरशीप गरी भारतलाई मजबूत स्थितिमा पुऱ्याए। यी दुईबाहेक हार्दिक पाण्ड्याले १९ बलमा २ वटा छक्का र २ वटा चौकाको साथ ३२ रनको योगदान दिए। बंग्लादेशका बलरहरूमा रिशाद होसेनले सर्वाधिक ३ विकेट लिए पनि आफ्नो ४ ओभरमा ५५ रन खर्च गरे। जवाफमा बंग्लादेशले २० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो। विशाल लक्ष्य रहेको हुनाले दबाउमा परेर बंग्लादेशले शुरुदेखि नै विकेट गुमाउन थाल्यो। मंगलवार टी२० इण्टरनेशनलबाट सन्न्यासको घोषणा गर्ने महमुदुल्लाहले सर्वाधिक ४१ रन बनाए। उनले ३९ बल खेलेर ३ वटा छक्का लगाए। यसबाहेक अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। भारतीय बलरहरूमा नितिश कुमार रेड्डी र वरुण चक्रवर्तीले २-२ विकेट लिए। रेड्डीलाई अलराउण्ड प्रदर्शनको निम्ति प्लेयर अव् द म्याच चयन गरियो।








