बालिकाको दुष्कर्मपछि हत्याको विरोध महिलाहरूको कडा सन्देश

Child-Sexual-Abuse-Rep-Image-01-1

कोलकाता: कुलतलीमा १० वर्षीया बालिकाको दुष्कर्मपछि हत्या भएको घटनामा स्थानीय महिलाहरूले गहिरो निराशा व्यक्त गरेका छन्। उनीहरूले आफूलाई राज्य सरकारको आर्थिक सहयोग योजना ‘लक्ष्मी भण्डार’ नचाहिने बरु छोरीको लागि न्याय चाहेको बताए। दक्षिण २४ परगनाको कुलतालीमा रूखमुनि भेला भएका महिलाहरूले आफ्नो सुरक्षा र बालिकाको न्यायको लागि देवी दुर्गासँग प्रार्थना गरे। एक महिलाले भनिन्, ‘हामीलाई लक्ष्मी भण्डार वा कन्याश्री योजना चाहिँदैन। हामी केवल हाम्रा छोरीहरूको सुरक्षा चाहन्छौं।‘ ‘लक्ष्मी भण्डार’ योजना अन्तर्गत सामान्य वर्गका महिलालाई १ हजार रुपियाँ र अनुसूचित जाति तथा जनजातिका महिलालाई १ हजार २ सय रुपियाँ भत्ता दिइन्छ। तर यो आर्थिक सहयोग आफ्नो सुरक्षाका लागि पर्याप्त नभएको स्थानीय महिलाहरूको विश्वास छ। अर्की महिलाले चिन्ता व्यक्त गरिन्, ‘महिलाको सुरक्षा कहाँ छ? हामीले पहिले धेरै घटनाहरू देखेका छौं, र अहिले हामीले छोरी  गुमाएका छौं।‘ यस मामिलामा, राज्य सरकारले एक विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको छ, जसको नेतृत्व बरुईपुरका पुलिस अधीक्षक पलाश चन्द्र ढाली हुनेछ। ५ अक्टोबरमा भएको घटनाले राज्यभर व्यापक विरोध प्रदर्शन गर्‍यो। यस घटनामा पुलिसले एक जनालाई पक्राउ गरिसकेको भएपनि स्थानीय महिलाहरूले न्यायको माग गरिरहेका छन्।

About Author

Advertisement