खरसाङ: पगलाझोड़ा क्षेत्रमा मूर्ति विसर्जन गर्न मनाही गरिएको छ। हरेकपल्ट यस क्षेत्रमा मूर्ति सेलाउने गरिएको र यसपालीदेखि यस क्षेत्रमा मूर्ति सेलाउन अबदेखि नपाउने भएको छ। तल्लो पगलाझोड़ाको झरणा क्षेत्र र माथिल्लो पगलाझोड़ाको गाड़ी धुने क्षेत्रमा मूर्ति विसर्जन गर्न नपाउने भएको छ। यस विषयमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले जानकारी गराए अनुसार खरसाङ क्षेत्रका सबै मूर्ति विसर्जनको कार्य दुधे क्षेत्रमा अनुमति दिइएको र पगलाझोड़ा क्षेत्रमा भने- एकदमै मनाही गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार केही दिन अघि पगलाझोड़ामा घटेको घटनालाई ध्यानमा राखेर प्रशासनले पगलाझोड़ा क्षेत्रमा मूर्ति विसर्जनको लागि मनाही गरेको साथै यस क्षेत्रलाई पर्यटकीय दृष्टिकोणले सफा राख्नलाई पनि मूर्ति विसर्जन गर्न मनाही गरिएको जानकारी गराएका छन्। महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले यो अर्डर आफुहरूलाई खरसाङ खण्ड विकास कार्यालयबाट प्राप्त भएको बताउँदै अबदेखि पगलाझोड़ाको दुवै ठाउँ तल्लो र माथिल्लोपट्टि मूर्ति विसर्जन नगरिदिने अपील सबैलाई गरेका छन्।











