भद्रपुर: मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित स्वतन्त्र सांसद (प्रतिनिधिसभा सदस्य) योगेन्द्र मण्डलले पार्टी प्रवेशका लागि मतदातासँग लिखित सुझाव माग गर्न थालेका छन्। २०२२ को दिसम्बरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र निर्वाचित सांसद मण्डलले दल प्रवेशका लागि मतदातासँग लिखित सुझाव माग गरेका हुन्।
जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक मण्डल निर्वाचनअघि नेकपा (एकीकृत माले)मा थिए। पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए। ‘पुरानै दलमा प्रवेश गर्ने कि नयाँ दल खोल्ने भनेर मतदातासँग सुझाव मागिरहेको छु,’ सांसद मण्डलले भनेका छन्,‘ बहुमत मतदाताको सुझाव अनुसार अघि बढ्छु।’

सुझाव दिने क्रममा अधिकांश मतदाताहरुले नयाँ दल खोल्न सुझाव दिइरहेका छन्। स्वतन्त्र सांसद निर्वाचित भएका मण्डललाई नेपाली कांग्रेस, एकीकृत माले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पाटी (जसपा) ले पटक–पटक पार्टी प्रवेशको प्रस्ताव गरेका थिए।
तर, सांसद मण्डलले आफू स्वतन्त्र निर्वाचित भएका कारण जनताको सुझाव लिएर मात्रै अघि बढ्ने जवाफ दिँदै आएका छन्। पार्टी प्रवेशका लागि जनतासँग सुझाव माग्ने उनले नयाँ अभ्यास गरेका हुन्। अरु स्वतन्त्र सांसद वा नेताले यसरी लिखित रुपमा निर्वाचन क्षेत्रका जनतासँग सुझाव माग गरेको जानकारी छैन।










