सिलगढी: आरजी करको विषयमा न्यायसहित १० सूत्री मागको समर्थनमा दुई जना जुनियर डाक्टर सौभिक ब्यानर्जी र आलोक कुमार वर्मा आज उत्तरबंग मेडिकल कलेज एवं अस्पताल परिसरमा भोक हडतालमा बसेका छन्। आरजी करको विषयमा न्यायको लागि कोलकातामा जुनियर डाक्टरहरूले भोक हडताल शुरु गरेका छन्। यसैगरी, उत्तरबंग मेडिकल कलेज एवं अस्पतालका २२ जना जुनियर डाक्टरहरू पनि गत आइतबार २४ घण्टाको सांकेतिक भोक हडतालमा बसेका थिए। अन्य जुनियर डाक्टरहरूले २४ घण्टाको सांकेतिक भोक हडताल गरेपछि आज काममा फर्किएका छन्। तर, यी दुई जुनियर डाक्टर आपतकालीन विभागको अगाडी भोक हडतालमा बसेका छन्। जबसम्म आफुहरूको १० सूत्री माग पूरा हुँदैन, तबसम्म भोक हडताल जारी रहने उनीहरूले बताएका छन्।









