२४ अगस्तः टोक्यो ओलम्पिकमा स्वर्ण पदक विजेता भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा गत महिना लागेको ग्रोइनको मामूली चोटबाट मुक्त भइसकेका छऩ् अनि २६ अगस्तदेखि स्विट्जरल्याण्डको लुसानेमा शुरु हुने डायमण्ड लीग प्रतियोगितामा हिस्सा लिन तयार छन्। नीरज स्वयंले यस खबरको पुष्टि गरेका छन्। जर्मनीमा आफ्नो चोटको उपचार गराइरहेका नीरजले ट्विटरमा आफ्नो तस्वीर साझा गर्दै भनेका छन्, मजबूत अनि शुक्रवारको निम्ति तयार अनुभव गरिरहेको छु। समर्थनको निम्ति सबैलाई धन्यवाद। तपाईंहरूसँग लुसानेमा भेट हुनेछ। लुसानेमा असल प्रदर्शनले नीरजलाई ७ र ८ सेप्टेम्बरमा ज्यूरिखमा हुने डायमण्ड लीगको फाइनलमा स्थान दिलाउनेछ। उनी अहिले तालिकामा चौथो स्थानमा छन्। तालिकाको शीर्ष ६-मा रहने खेलाड़ीहरूले ज्यूरिखमा हुने फाइनलमा स्थान बनाउनेछन्। लुसाने प्रतियोगिता अन्तिम चरण हो, जसमा पुरुषहरूका ज्याभलिन थ्रो स्पर्धालाई सामेल गरिएको छ।
अमेरिकाको यूजीनमा २४ जुलाईको दिन विश्व एथलेटिक्स च्याम्पियनशीपमा भारतलाई ऐतिहासिक रजत पदक दिलाउने क्रममा २४ वर्षीय नीरजलाई चोट लागेको थियो। यसैकारण उनी बर्मिंघममा भएको राष्ट्रमण्डल खेलहरूबाट हट्न वाध्य भएका थिए। चोटमुक्त हुन चिकित्सकहरूले उनलाई ४ हप्ता आराम गर्ने सल्लाह दिएका थिए। त्यसपछि उनको जर्मनीमा उपचार चलिरहेको थियो।









