पाकिम: सिक्किम सरकारका कृषि, बागवानी, पशुपालन तथा मत्स्यपालन विभागीय मन्त्री पुरण गुरुङले बुदाङ कमेरेमा भीएलसी केन्द्रको उद्घाटन गरे। क्षेत्रवासीले धेरै दिनदेखि उक्त केन्द्रको माग उठाउँदै आएका थिए। जसलाई कृषि एवं बागवानी विभागले पूरा गरेको छ। उक्त केन्द्र कृषकहरूको लागि कृषि आवश्यकताहरूलाई केन्द्र गरेर निर्माण गरेको जानकारी स्थानीय पञ्चायतले दिए। विशेष जैविक खेतीलाई बढावा दिने कुरामा मस्थानीय पञ्चायतले प्रमुखता दिएको छ। बुदाङ कमेरे विभिन्न जैविक उत्पादका लागि परिचित छन् भने धेरैजस्ता कृषकहरू कृषिमा निर्भर रहेको बताइएको छ। उद्घाटनका क्रममा मन्त्रीले जैविक खेतीलाई प्रवर्द्धन गर्न पञ्चायत र कृषक समुदायको समर्पित प्रयासको प्रशंसा गरे। उनले कृषिको महत्वलाई जोड दिँदै यो हाम्रो भविष्य रहेको बताए। उनले विभागले सञ्चालन गरेका योजनाको अधिकतम लाभ लिन सबैलाई आग्रह गरे। उनले निकट भविष्यमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कार दिने बताए। कार्यक्रममा मन्त्री गुरुङले विभागद्वारा प्रदान गरिने पावर टिलर, एग्रोसेड नेट, स्प्रेयर, यूभी फिल्म, पोलिपाइप र बीउहरु पनि वितरण गरेका थिए। कार्यक्रममा पाकिम जिल्ला पञ्चायत उपाध्यक्ष प्रभा प्रधानले पनि कृषकहरुको समस्याबारे जानकारी लिए।