सिलगढी: भारतीय जनता युवा मोर्चा सिलगढी संगठनात्मक जिल्ला कमिटीले उत्तर बंगाल विश्वविद्यालयमा अवैध नियुक्ति र भ्रष्टाचारलाई लिएर एकपटक फेरि सशक्त आन्दोलन शुरु गरेको भारतीय जनता युवा मोर्चाका अध्यक्ष अरिजित दासले बताएका छन्। उनले भने, ‘विश्वविद्यालयका रजिष्ट्रार इन्चार्ज रजिष्ट्रार देवाशिष दत्तले अवकाश पाएको अन्तिम दिन अर्थात कलेज छाड्ने दिनमा विभिन्न विभागमा अवैध रूपमा १६ जनालाई नियुक्त गरेका छन्। यो नियुक्ति २ अक्टोबर गान्धी जयन्तीको दिन गरिएको हो। नियुक्ति पत्र व्हाट्सएप मार्फत पठाइएको छ। यो सम्पूर्ण मामिलामा गोप्यता राखिएको छ र इन्चार्ज रजिष्ट्रारले कसरी नियुक्ति गर्ने भन्ने प्रश्न उठेको छ। दोस्रो कुरा भनेको सूचना र विज्ञापन नदिई नियुक्ति कसरी हुन्छ। देबाशिष दत्तलाई पक्राउ गर्नुपर्छ भन्ने हाम्रो माग छ।‘ देबाशिष दत्तले टीएमसी नेताहरूसँग मिलेर यो नियुक्ति गरेको उनले आरोप लगाएका छन्। उनले भने, ‘यस विषयमा हामी नयाँ रजिष्ट्रारलाई ज्ञापनपत्र बुझाउने छौं। यसको प्रतिलिपि उपकुलपति र राज्यसभा सांसद राजु बिष्टलाई पनि दिइनेछ। २ अक्टोबरमा गान्धी जयन्तीको बिदामा यो गैरकानूनी कार्य गरेको हुनाले उनलाई पक्राउ गरिनुपर्छ।‘