दार्जीलिङ: दार्जीलिङको बडा पताबुङ जाने सडकको अवस्था अतिनै दयनीय बनेको छ। विगत धेरै वर्षदेखि यस्तो दयनीय अवस्थाबीच पनि स्थानीय मानिसहरूले आफ्नो ज्यानलाई जोखिममा राखेर यस सडक भएर यातायात गरिरहेको भए तापनि गत केहीदिन अघिदेखि लगातार रूपमा परिरहेको पानीले सडकको अवस्था अझ जीर्ण पारेको छ भने ठाउँ-डाउँमा पैह्रो समेत जान थालेकोले अब यहाँबाट गाडी कुद्न साथै मानिसहरूलाई समेत यात्रा गर्न धेरै असुविधा र मुस्किल भइरहेको स्थानीय ग्रामवासीहरूले बताएका छन्। २००९ मा निर्मित यस सडकले तर आजसम्म एकैपल्ट पनि मर्मति नदेखेको ग्रामवासीहरूको गुनासो छ। पहाडमा धेरै राजनीतिक परिवर्तनहरू भए। सत्ता परिवर्तन भए। दागोपाप भए, त्यसपछि दुइचोटि जीटीए सञ्चालनमा आइसक्यो तर पनि यस सडकले आजसम्म एकैपल्ट पनि मर्मति नपाएकोमा दुःख व्यक्त गरेका छन्। तिनीहरूले सम्बन्धित विभाग अनि विभिन्न राजनीतिक दलका नेताहरूको ध्यान आर्कषण गराउँदै सडकको यथाशीघ्र मर्मति गरिदिने अनुरोध गरेका छन्। अर्कोतिर सडकको यस्तो अवस्थालाई केही हद्सम्म ठीक गर्न स्थानीय चालक तथा ग्रामवासीहरूले श्रमदान गरेर निजी खर्चमा सडकको मर्मति गरे तापनि हाल परिरहेको पानीले फेरि भत्काइदिएपछि तिनीहरू समस्यामा परेका छन्। ग्रामवासीहरूको भनाइ अनुसार अब यस सडक भएर गाडी कुद्न नसक्ने भएको छ। जसले गर्दा विशेषगरी बिरामीहरू, विद्यार्थीहरू तथा वृद्ध-वृद्धा अनि दैनिक यात्रा गर्नेहरूलाई अझ धेरै समस्यामा पारेको ग्रामवासीहरूको भनाइ छ।










