खरसाङ: दार्जीलिङ पहाडी भेकका एकजना पुराना फूटबल खेलाडी मोहन योन्जनलाई दार्जीलिङ पहाडी भेकको लोकप्रिय क्षेत्रीय टीभी च्यानल नमस्ते खरसाङले ‘नमस्ते सम्मान’द्वारा सम्मानित गरेको छl आज खरसाङको क्याम्ब्रिज इङ्गलिस स्कूलको प्रेक्षागृहमा नमस्ते खरसाङको आयोजनामा भइरहेको ‘किड्स फेशन शो’ कार्यक्रममा यो उनलाई यो सम्मान प्रदान गरिएको होl सन् १९७० को दशकमा खरसाङ फूटबल एसोसिएसनको आयोजना हुने पहाडकै चर्चित फूटबल प्रतियोगिता आरबीजीएम च्यालेन्ज कप (राधा वल्लभ गुप्त मेमोरियल च्यालेन्ज कप)मा मोहन योन्जनले धेरै ख्याती कमाएका हुन्l
पूर्व पुलिस अधिकारी मोहन योन्जन आफ्नो कार्यकालमा पुलिस टीमबाट खेल्ने गर्थेl उनी फूटबल खेलाडीको रुपमा मात्र लोकप्रिय थिएनन्, एक जना अनुशासित र इमान्दार पुलिस अधिकारीको रुपमा उनी सबैका प्रिय बनेका हुन्l आरबीजीएम प्रतियोगिता बाहेक उनले दार्जीलिङको चर्चित प्रतियोगिताहरूमा आफ्नो खेलको कौशलका कारण उनी सबैका नजर परेका खेलाडी हुन्l आफ्नो सम्पूर्ण जीवन उनले खेलकुद विकासको लागि समर्पण गरेका छन्l हालमा उनी खरसाङ सब-डिभिजनल स्पोर्ट्स एसोसिएसन (केएसएसए) का अध्यक्ष बनेर खेलकुदको विकासलाई निरन्तरता दिइरहेका छन्l
मोहन योन्जनलाई सम्मान जनाउन अघि मंचमा उनलाई भावुक देखिन साथै उनको आँखा रसाएको थियोl उनको बारेमा बोल्दा नमस्ते खरसाङका निर्देशक निर्मल गुरुङले भन्दै थिए, ‘उहाँ मेरो बाबु समान हुनुहुन्छl’ त्यति भन्दा भन्दै निर्मल गुरुङले पनि आफ्नो रसिएका आँखाबाट झरेका थोपा आँसु पुछेl यो थियो एक इमान्दार नागरिकलाई सम्मान जनाउँदा खेरिको भावनात्मक क्षणl निर्मल गुरुङ पनि मोहन योन्जनकै मार्गदर्शनमा केएसएसएको सचिव रहेर दार्जीलिङ पहाडमा खेलकुदलाई प्रवर्द्धन गर्दै यात्रा गरिरहेका एक अथक समाज विकासका संघर्षशील यात्री हुन्l
आज मोहन योन्जनलाई खरसाङ नगरपालिकाका अध्यक्ष ब्रिगेन गुरुङ, रिम्पोछे पेम्बा, क्याम्ब्रिज इङ्गलिस स्कूलका प्रिन्सिपल तथा अधिवक्ता रमेश अग्रवाल, गोर्खा जन पुस्तकालयका उपाध्यक्ष प्रकाश प्रधान, समाज सेवक टी टी लामाको बाहुलीबाट अङ्ग वस्त्र, नेपाली टोपी, सम्मान पत्र, स्मृति चिन्ह, पुष्पगुच्छा, नगद राशि प्रदान गरेर सम्मान जनाइयोl नमस्ते खरसाङ च्यानल यस वर्षदेखि समाजका विशिष्ट व्यक्तिहरूलाई ‘नमस्ते सम्मान’ प्रदान गर्न शुरु गरेको छl