गान्तोक: प्रेस क्लब अफ् सिक्किमले आइपीआर विभाग र मुख्यमन्त्री कार्यालयका प्रतिनिधिसँगको बैठकपछि पत्रकार सम्मान योजनाको मानदण्डलाई पारित गरेको छ। गत ९ सेप्टेम्बर २०२४-को दिन आईपीआर विभागकी सचिव अन्नपूर्ण आले र मुख्यमन्त्रीका स्रोत अधिकारी सूर्जे प्रधानसँगको बैठकमा पत्रकार सम्मान योजनामाथि प्रेस क्लबका कार्यकारी समितिले चर्चा गरेको थियो। तीनै पक्षबीच भएको चर्चा-परिचर्चाअनुसार बनाइएको पत्रकार सम्मान योजनाको मानदण्डलाई अन्तिम रूप दिइएको छ। पत्रकारिताबाट अवकाश ग्रहण गर्न चाहने वरिष्ठ पत्रकारहरूका निम्ति यो योजना आरम्भ गरिएको हो। बुधवार अध्यक्ष भीम राउतको अध्यक्षतामा बसेको प्रेस क्लब अफ् सिक्किमको कार्यकारी समितिको बैठकले यस योजनालाई अब चाँडै वितरण गर्ने निर्णयसँगै अन्य धेरै प्रस्तावहरू ग्रहण गरेको छ। बैठकले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा मिडिया फेस्टको आयोजनसँगै पचास वर्षको सिक्किमेली पत्रकारितामाथि एउटा ऐतिहासिक पुस्तक प्रकाशन गर्ने निर्णय लिएको छ। क्लबले पत्रकारहरूका निम्ति आउँदो अक्टोबरमा एउटा स्वास्थ्य जाँच शिविरको पनि आयोजन गर्ने निर्णय लिएको छ। स्मरण गराइन्छ, प्रेस क्लबले आफ्ना सदस्यहरूका लागि स्वास्थ्य सुरक्षा योजनाको पनि सुविधा उपलब्ध गराउन लागिरहेको छ।