गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले दार्जीलिङका लोकसभा सांसद राजु विष्टसँग भेट गरि छुटेका १२ समुदायलाई जनजातिको मान्यता मुद्दामाथि छलफल गरेका छन्। मुख्यमन्त्री तामाङले उक्त मुद्दाको स्थितिबारे जायजा पनि लिएका थिए। मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त भेटको जिकिर गरेका छन्। भेटको क्रममा सासंद विष्टको साथमा दार्जीलिङका विधायक नीरज जिम्बा पनि उपस्थित थिए। मुख्यमन्त्री तामाङले छुटेका १२ समुदायलाई जनजातिको मान्यता दिलाउने मुद्दामाथि छलफल भएको उल्लेख गरेका छन्। यसका साथै थाँतीमा रहेको उक्त मुद्दाको स्थितिबारे चर्चा गर्दै यस विषयमा गहिरिएर अध्ययन गरी निकट भविष्यमा विस्तृत एथोनोग्राफी प्रतिवेदन तयार गर्न विज्ञ समिति गठन गर्ने जानकारी गराएको थप उल्लेख मुख्यमन्त्री तामाङले गरेका छन्। यस विषयमाथि संयुक्त रुपमा समन्वय राखेर अगाडिको रणनीति तय गर्ने जानकारी पनि दिएका छन्।










