खरसाङ: तीनधारेको श्रीगणेश सहकारी समिति र घैयाबारी ग्राम पञ्चायत दुईको संयुक्त आयोजनामा तीनधारेको महात्मा गाँधी हलमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा उत्तर बंगाल मेडिकल कलेजबाट अभय क्लिनिकका डाक्टरहरू आएर तीनधारे क्षेत्रमा रहेका जनसाधारणको स्वास्थ्य जाँच गरेका थिए। उक्त स्वास्थ्य जाँच शिविरमा स्वास्थ्य जाँच शिविर विषयमा श्रीगणेश सहकारी समितिको अध्यक्ष बिनयकुमार छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको सचिव रबीन मेक्तान र उत्तर बंगाल मेडिकल कलेजका अभया क्लिनिकका रेसीडेन्ट डाक्टरहरूका सभापति पुस्तक चक्रवर्तीले वक्तव्य राखेका थिए। यस शिविरमा तीनधारे र वरिपरिका जनसाधारण लगभग ३५० जनाले स्वास्थ्य जाँच गराएका थिए। उक्त शिविरमा सुकना खण्ड स्वास्थ्य केन्द्रबाट पनि थेरापीको डाक्टर आएका थिए। तीनधारेमा अभया क्लिनिक आयोजना गर्नुको मुख्य उद्देश्य कोलकोताको आरजीकर मेडिकल कलेजमा एकजना महिला डाक्टरको बलत्कार अनि हत्याको घटनालाई लिएर दोषीले न्याय पाउनुपर्छ साथै मृतक डाक्टरको चिर आत्माले शान्ति पाऊन् भनी मेडिकल कलेजमा डाक्टरहरूले सेवा बन्द गरे पनि जनसाधारणको सुविधाको लागि विभिन्न गाउँहरूतिर अभया क्लिनिक आयोजना गर्दै आइरहेका छन् र यसै क्रममा तीनधारेमा पनि आयोजना गरिएको छ। उक्त स्वास्थ्य शिविरमा कोलकोतामा महिला डाक्टरमाथि भएको बलत्कार अनि हत्याको घटनामा पिढितले झट्टै न्याय पाउनुपर्छ साथै दोषीलाई कड़ा कार्वाही गरिनुपर्छ भन्ने मांगमा क्याण्डल बालेर श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा अनि सदस्य दिपेन्द्र तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। यस स्वास्थ्य शिविरमा तीनधारे र वरिपरि क्षेत्रका विभिन्न संघ संस्थाहरू, विद्यालयहरूका विद्यार्थीहरू र जनसाधारण उपस्थित रहेका थिए। यस स्वास्थ्य शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै श्रीगणेश सहकारी समितिको अध्यक्ष बिनयकुमार छेत्री र डा पुस्तक चक्रवर्तीले विस्तृत रूपमा जानकारी गराएका छन्।











